कस्तो छ नगरकोट भ्रमण वर्ष-२०८२ को तयारी ?

नगरकोट: चाँगुनारायण, मण्डन देउपुर, बनेपा र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा मनाउन गइरहेको नगरकोट भ्रमण वर्ष २०८२ को तयारी पूरा भएको छ । नगरकोटमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सम्पूर्ण तयारी पूरा भएको जनाइएको हो ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय र नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा हुने भ्रमण वर्षमार्फत नगरकोट क्षेत्रको प्रकृति, संस्कृति र ऐतिहासिक सम्पदालाई प्रचारप्रसार गर्ने उद्देश्य रहेको छ । साथै नगरकोटलाई औपचारिक पर्यटकीय क्षेत्र घोषणा गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने लक्ष्य समेत राखिएको छ ।

नयाँ वर्ष २०८२ को पहिलो दिन वैशाख १ गते राष्ट्रपति रामचन्द्र पौडेलले नगरकोटको बतासे डाँडामा भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भ्रमण वर्ष उद्घाटनको दिन बतासे डाँडामा ५० भन्दा बढी स्टल रहनेछन्, जसमा फुड स्टल, कृषि सामग्रीका प्रदर्शनी, गुरुङ समुदायको संग्राहलय र सबै पालिकाका झाँकी समावेश गरिनेछ ।

बैशाख २ गते चर्चित लोक दोहोरी साँस्कृतिक समूह इन्द्रेणीले आफ्नो साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछ । बैशाख ३ गते प्रसिद्ध गायक प्रकाश सपुतसहितको स्थानीय कलाकारहरुले साँगीतीक कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले केही वर्षअघि नगरकोट प्रमुख पर्यटकीय गन्तव्य भए पनि पूर्वाधार साथै अन्य अभावका कारण ओझेलमा पर्दै गएकै कारण भ्रमण वर्ष आयोजना गरिएको स्पष्ट पार्नुभयो । नगरकोटमा पहिलेकै अवस्थामा पर्यटकको चहलपहल बढाउन नगरपालिकाको पहिलो बैठकबाटै भ्रमण वर्ष मनाउने निर्णय गरिएको र अन्य पालिकासँग सहकार्य गर्दै अघि बढिएको बताउनुभयो ।

मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले चारवटै पालिकाले भ्रमण वर्षको तयारीमा जुटेको र प्रचारप्रसार तीव्र रूपमा भइरहेको जानकारी गराउनुभयो । साथै, पर्यटकलाई स्थानीय संस्कृति र स्वादको अनुभव गराउने उद्देश्यले नमुना होमस्टे बनाइएको र रैथाने बाली पकाएर खुवाउने योजना पनि रहेको बताउनुभयो ।

भ्रमण वर्षको अवधिभर चारवटा नगरपालिका भित्रका विभिन्न महत्वपूर्ण मठमन्दिर लगायत अन्य विविध धार्मिक, पौराणिक, आध्यात्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रहरुको भ्रमण गराइने छ । नगरकोटलाई पर्यावरणीय मनोरम दृश्यावलोकन, हिमाली दृश्यहरु, सुर्योदय र सुर्यास्तको मनोरम दृश्यावलोकनका लागि काठमाडौं उपत्यकाकै मुख्य पर्यटकीय गन्तव्यका रुपमा लिइने गरिन्छ ।

बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले अहिलेको नगरकोट अघिल्लो अवस्थाभन्दा निकै फरक भइसकेको बताउँदै पर्यटकले नयाँ अनुभव पाउने बताउनुभयो । साथै, बनेपाको चण्डेश्वरी मन्दिरसम्म पदयात्रा पनि सम्भव हुने उहाँले बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले भ्रमण वर्षले स्थानीय प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्ने बताउँदै जातजाति, भेषभूषा, पर्व र सांस्कृतिक पहिचान उजागर गरिने उल्लेख गर्नुभयो ।

मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले नगरकोट र चारवटै पालिकाबीचको सम्बन्ध सुदृढ गर्दै समग्र पर्यटन योजनाको डीपीआर तयार पार्ने काम भइरहेको बताउनुभयो । नगरकोटमा मात्र पर्यटक सिमित भइरहेको अवस्थामा चार वटै नगरपालिकाका जनप्रतिनिधिहरुमार्फत विकासको योजना बनाएर एक ठाउँमा आएका पर्यटकलाई अर्को ठाउँमा पुर्याउनका लागि भ्रमण वर्षले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।

भ्रमण वर्षका विज्ञ डा. घनश्याम खतिवडाका अनुसार चार वटै पालिकाभित्र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका एक सय कलाकारले नगरकोट वरपरका सम्पदा भ्रमण गराई उक्त सम्पदाको चित्र क्यानभासमा कोरिने र प्रदर्शनी गरिनेछ । साथै कला संग्रालयको स्थापना समेत गरिनेछ । भ्रमण वर्ष सफल पार्न आवश्यक खर्च चार वटै नगरपालिका र नगरकोट क्षेत्रको पर्यटन ब्यवसायीहरु समेतको साझेदारीमा हुनेछ । भ्रमण वर्षभर चार वटै पालिकामा पर्यटन प्रबद्र्धनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

पुषमा अंग्रेजी नयाँ वर्ष सन् २०२५ को बिदाई र २०२६ को सूर्योदयका अवसरमा चार वटै पालिकाको सहभागितामा नगरकोटमा सांगीतीक कार्यक्रम आयोजना गरिने जनाइएको छ । नगरकोट भ्रमण वर्ष २०८२ को अन्तिम महिना अर्थात चैत महिनामा सहकारी दिवसलाई विशेष एवं सिर्जनात्मक रुपमा विविध कार्यक्रमहरुको आयोजना गरिनेछ । नगरकोट भ्रमण वर्ष २०८२ स्मारिका समेत प्रकाशन गरिनेछ ।

त्यस्तै, नगरकोट आवतजावतका लागि मुख्य बाटो लामो समयदेखि निर्माणमा ढिलासुस्ती भइरहेको अवस्थामा हाल चाँगुनारायण नगरपालिकाले आफ्नो आन्तारिक स्रोतबाट कालोपत्रेको प्रक्रिया शुरु गरिसकेको छ । साथै विभिन्न बैकल्पिक सडकहरुको स्तरोन्नति गरिएको छ ।

नगरकोट भ्रमण वर्षलाई लक्षित गरि नगरकोटमा आन्तरिक पर्यटठकलाई अझै सुविधा दिने गरि नगरकोटबाट काठमाडौंसम्म सिधा बस सेवा सञ्चालन गरिसकिएको छ भने होटल ब्यवसायीहरुले नयाँ वर्षको १, २ र ३ गते १५ प्रतिशत र भ्रमण वर्ष अवधिभर नगरकोट आउने पर्यटकको बसाईमा १० प्रतिशत छुट दिने घोषणा गरिसकेका छन् । भ्रमण वर्षमा नगरकोट क्षेत्रमा १ लाख आन्तरिक पर्यटक र १० लाख बाह्य पर्यटक गरी कुल ११ लाख पर्यटक भित्र्याउने लक्ष्य राखीएको छ ।