चाँगुनारायण नगरपालिकामा प्रभातफेरि गरि मनाईयो ६८ औं राष्ट्रिय सहकारी दिवस (फोटोफिचर)

खरीपाटी : चाँगुनारायण नगरपालिकाले ६८ औं सहकारी दिवस प्रभातफेरि गरि मनाएको छ । मर्यादीत सहकारी, समुनन्त समाज भन्ने मूल नाराका साथ नगरपालिकाले बुधबार प्रभावतफेरि गरि ६८ औं राष्ट्रिय सहकारी दिवस मनाएको हो ।

बाजागाजा, प्ले कार्ड सहित भएको प्रभातफेरि नगरपालिका प्रांगणमा आई समापन गरिएको थियो । प्रभातफेरि कार्यक्रममा नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँसहित जनप्रतिनिधिहरु, विषयगत सहकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहर र सदस्यहरुको बाक्लो सहभागिता थियो । नगरपालिकाको प्रांगणमा आयोजित एक समारोहका बीच नगर प्रमुख जीवन खत्रीले खुत्रुकेमा पैसा खसारेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा नगर प्रमुख खत्रीले चाँगुनारायण नगरभित्रका सहकारीमा हालसम्म कुनै समस्या नदेखिएको बताउनुहुँदै आगामी दिनमा पनि सचेत भएर कारोबार गर्न आग्रह गर्नुभयो । नगरपालिकाले सहकारी मूल्य मान्यता र उद्देश्य अनुरुप संस्थाहरुलाई विभिन्न समयमा तालिम प्रदान गर्ने कार्य गर्दै आइरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले सहकारी संस्थाहरु नीति नियममा नचल्दा समस्या आउने गरेको भन्दै मापदण्डमा रहेर मात्र काम गर्नुपर्नेमा जोड दिनुभयो ।

वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडका र ६ का वडाध्यक्ष धन बहादुर लामाले सहकारी संस्थालाई ब्यवस्थित बनाउन सबैभन्दा पहिला सदस्यहरु नै जागरुक हुनुपर्ने बताउनुभयो ।

नगरकोट भ्रमण वर्ष २०८२ प्रसार प्रसार विज्ञ डा. घनश्याम खतिवडाले नगरपालिकाले मनाउन लागेको नगरकोट भ्रमण वर्षको तयारी र सहकारी संस्थाले गर्न सक्ने कामका बारेमा चर्चा गर्नु भएको थियो ।

चाँगुनारायण नगरस्तरीय सहकारी सञ्जालका अध्यक्ष प्रल्लाद बास्तोलाले नगरभित्रको सहकारीको अवस्था बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा सहकारी अभियन्ता रुद बहादुर खडका्, नेपाल बचत तथा ऋण सहकारी संघ केन्द्रीय सदस्य मन्दिरा मिश्र, जिल्ला सहकारी संघ भक्तपुर सचिव राम प्रसाद कासुला, जिल्ला बचत संघ भक्तपुरका लेखा संयोजक बालकुमुन्द उपाध्याय, जिल्ला कृषि संघ भक्तपुरका सदस्य कुल बहादुर न्हेमाफुकीलगायतले धारणा राख्नु भएको थियो ।

चाँगुनारायण नगरस्तरीय सहकारी सञ्जालका अध्यक्ष प्रल्लाद बास्तोलाको सभापीतत्वमा सम्पन्न कार्यक्रममा सचिव लीलानाथ निरौलाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रम वडा नंं ५ बाट नगर सभा सदस्य सुरेश कार्कीले सञ्चालन गर्नु भएको थियो ।