महादेव खोला जलाशययुक्त खानेपानी आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न

खरीपाटी: महादेव खोला जलाशययुक्त खानेपानी आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धमा सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । खानेपानी तथा ढल ब्यवस्थापन विभाग डिजाइन अनुसन्धान तथा उपयुक्त प्रविधि शाखाको आयोजना र चाँगुनारायण नगरपालिकाको संयोजनमा मंगलबार चाँगुनारायण नगरपालिकाको सभाहलमा सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको सहभागितामा भएको कार्यक्रममा चाँगुनारायण नगरपालिका नगर उपप्रमुख रमेश बुढाथोकी, विभागकी ईन्जिनियर अन्जु आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँ, वडा नंं ६ का वडाध्यक्ष धन बहादुर लामा, ७ का वडाध्यक्ष श्यामकृष्ण नयाजु श्रेष्ठ, वडा नंं ५, ६ र ७ का स्थानीय, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न सरोकारवाला र स्थानीयले आयोजना ढिलै भए पनि अगाडि बढ्न लागेकोमा खुसी ब्यक्त गर्दै ब्यापक छलफलपछि मात्र आवश्यक प्रक्रिया अगाडि बढाउन र चाँगुनारायण नगरपालिकाका सबै वडालाई समेटेर अगाडि बढाउनुपर्ने धारणा राखेका थिए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी अर्यालले स्थानीय र सरोकारवाला निकायसँग ब्यापक छलफल तथा अन्र्तक्रिर्या पछि आयोजना अगाडि बढाउँदा दिर्घकालीन रुपमा काम गर्न सहज हुने भएकाले सोही अनुसार अगाडि बढाउन आग्रह गर्नुभयो ।

नगर उपप्रमुख बुढाथोकीले नगरपालिकाले खानेपानीको समस्या समाधानका लागि आफ्नो स्रोत र साधनले म्याएसम्म सक्दो प्रयास गर्दै आए पनि संघीय सरकारबाट अर्बका योजना अगाडि बढाउनु सकारात्मक र स्वागतयोग्य कार्य भएको बताउनुभयो । उहाँले चाँगुनारायण नगरबासी धेरै भन्दा धेरैलाई लाभ हुने गरि आयोजना अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले सार्वजनीक सुनुवाई कार्यक्रम पुनः ड्माय क्षेत्रमा नै गर्न र स्थानीयबासीसँगको राय सुझाव लिन आग्रह गर्नुभयो ।

चाँगुनारायण नगरपालिकाका प्रशासन शाखाका अधिकृत सुरज पौडेलले संचालन गर्नु भएको कार्यक्रममा खानेपानी विभागका तर्फबाट ईन्जिनियर बालमुकुन्द पोखरेलले जलाशययुक्त खानेपानी आयोजनाको बारेमा विस्तुत जानकारीसहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तावीत योजना अनुसार चाँगुनारायण नगरपालिका वडा नंं ६ र ७ को सिमानामा पर्छ । प्रस्तावीत आयोजनाबाट चाँगुनारायण नगरपालिका वडा नंं ५, ६ र ७ र भक्तपुर नगरपालिकाका २ देखि १० वडाबासी लाभान्वित हुने उल्लेख छ ।

बाँधस्थलमा महादेव खेलामा जलग्रहण क्षेत्र ४ दशमलव ५६ वर्ग किलोमिटर रहेको छ । आयोजनाको लागि १९ हेक्कटर जग्गा आवश्यक पर्नेमा १७ दशमलव २२ हेक्टर वन क्षेत्र पर्छ भने बाँकि सार्वजनीक सडक खानेपानीको जग्गा पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै, आयोजना निर्माणका कारण करिब ५ हजारर रुख बिरुवामा क्षति पुग्ने देखिन्छ भने आयोजनाका कारण कुनै निजी जग्गा र सम्पत्ति प्रभावीत नहुने जनाइएको छ ।

आयोजनाको कुल लागत २ अर्ब ९३ करोड ३ लाख ४४ हजार ६ सय ९८ रहेको छ भने जसमध्ये ४० करोड ५ लाख २१ हजार ३ सय ६७ रुपैयाँ वातावरणीय लागत न्यूनीकरण अनुगमन र सामाजीक सहयोग वापत रहेको छ ।

त्यस्तैगरि, १८ करोड ७० लाख वनको जग्गा प्रतिस्थापन र क्षतिपूर्ति बृक्षारोपणमा लाग्ने अनुमान गरिएको छ ।