उपप्रधानमन्त्रीद्धय सिंह र पौडेलसँग नगरकोट भ्रमण वर्ष, सडक र समग्र चाँगुनारायणको विकासका विषयमा छलफल

चाँगुनारायण : उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, अर्का उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल र काठमाडौँ उपत्यका विकास प्राधिकरण प्रमुख आयुक्त जानुका ढकालसँग नगरकोट भ्रमण वर्ष, सडक, प्राकृतिक, धार्मिक तथा सांँस्कृतिक क्षेत्र र समग्र चाँगुनारायणको विकासका विषयमा छलफल भएको छ ।

बिहीबार नगरपालिकाको विभिन्न स्थानको निरीक्षणमा आउनु भएका उपप्रधानमन्त्रीद्धय सिंह र पौडेलसँग नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर, धार्मिक तथा साँस्कृतिक क्षेत्र,, नगरकोट सडक र नगरकोट भ्रमण वर्षको विषयमा छलफल गर्नु भएको हो ।

सो अवसरमा नगर प्रमुख खत्रीले आफू निर्वाचीत भएर आएपछि बसेको पहिलो कार्यपालिका बैठकबाट नगरकोट भ्रमण वर्ष २०८२ मनाउने निर्णय गरिएको र सोही अनुसार पूर्व तयारी भइरहेको बताउनुभयो ।

लामो समयदेखि नगरकोट सडक अलपत्र पारिदा नगरबासी अत्यन्तै मर्कामा परेको र समग्र चाँगुनाराणको विकासमा असर परेको बताउनुभयो । साथै पछिल्लो समय निर्माण ब्यवसायीको ठेक्का रद्ध भएसँगै नगरपालिका आफैले निर्माण गर्ने गरि १६ औ नगर सभाबाट बजेटको सुनीश्चित गरिसकेको पनि जानकारी गराउनुभयो ।

भूगोलको हिसावले नगरपालिका निकै ठूलो भएको बताउनुहुँदै सिमित स्रोत तथा साधनका बाबजुत समृद्ध नगर निर्माणमा जुटिरहेको मेयर खत्रीले जानकारी गराउनुभयो ।

मेयर खत्रीले स्मार्ट सिटीको नाममा तीन वर्षको लागि भनेर रोक्का राखिएको जग्गा आठ वर्ष बित्तिसक्दा पनि कुनै निकाश नलिकाल्दा जनताहरु मारमा परिरहेको बताउनुहुँदै वडा तथा नगरपालिकामा ब्यापक गुनासो आउने गरेको र अब निकास ननिस्किए थेग्न सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले रोक्का जग्गा फुकुवा नगरे तत्काल स्मार्ट सिटीका्े लागि जनतालाई चित्तबुझ्दो ढंगले कार्य अगाडि बढाउनुपर्नेमा समेत जोड दिनुभयो ।