उपप्रधानमन्त्रीद्धय सिंह र पौडेलद्धारा चाँगुनारायणका विभिन्न स्थानको स्थलगत निरीक्षण, स्मार्ट सिटी, वीर अस्पताल र प्रत्यारोपण केन्द्र चाँडो निर्माण गर्न ध्यानर्कषण

चाँगुनारायण: उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, अर्का उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल सहितको टोलीले बिहीबार चाँगुनारायणका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।

सो अवसरमा उपप्रधानमन्त्रीद्धयसँग स्मार्ट सिटी, दुवाकोटमा बन्ने भनीएको बीर अस्पताल र झौखेलमा बन्ने भनीएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, नगरकोट सडक, प्राकृतिक, धार्मिक तथा सांँस्कृतिक क्षेत्र र समग्र चाँगुनारायणको विकासमा छलफल भएको छ ।

सो अवसरमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले स्मार्ट सिटीको नाममा तीन वर्षको लागि भनेर रोक्का राखिएको जग्गा आठ वर्ष बित्तिसक्दा पनि कुनै निकाश नलिकाल्दा जनताहरु मारमा परिरहेको भन्दै ध्यानर्कषण गराउनुभयो । लामो समयदेखि जनताको जग्गा रोक्का राख्दा जनताहरु अत्यन्तै आक्रोशित रहेको बताउँदै मेयर खत्रीले अब पनि यसको निकास नदिए जनताको आक्रोशलाई रोक्न सक्ने अवस्था नरहेको बताउनुभयो ।

स्मार्ट सिटीको नाममा चाँगुनारायण नगरपालिकाका १ देखि ५ वडाको पूरै भाग र ६ देखि ८ वडाको केही भाग गरी ५२ दशमलव ७ वर्ग किमि जग्गा रोक्का छ ।

त्यस्तै, २०७७ कार्तिक २ गते शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले भवन निर्माण गर्ने भनी झौखेलस्थित ३१ रोपनी ७ आना जग्गा उपलब्ध गराएपनि अहिलेसम्म केन्द्रले निर्माण कार्य शुरु नगरेको प्रति समेत ध्यानर्कषण गराइएको थियो ।

उपप्रधानमन्त्रीद्धय पौडेल र सिंहले सो विषयमा सरकारले तत्काल प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको थियो । स्थलगत निरीक्षणमा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, पूर्व सचिव मनीराम गेलाल, चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, काठमाडौँ उपत्यका विकास प्राधिकरण प्रमुख आयुक्त जानुका ढकाल, नायब आयुक्त नवराज प्याकुरे, चाँगुनारायण नगरपालिका वडा नंं ३ का वडाध्यक्ष श्यामसुन्दर धिमाल, ईन्जिनियर सफल श्रेष्ठ लगायत नेपाल सरकारका बिशिष्ट व्यक्तिहरु सहभागि हुनुहुन्थ्यो ।