खरिपाटी: चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ को तयारी तीब्र पारेको छ । नगरपालिकाले भ्रमण वर्षको तयारी स्वस्प पर्यटकीय पूर्वाधार निर्माण देखि सडक महोत्सव, धिमे बाजा प्रतियोगिताको आयोजना जस्ता विभिन्न कार्यहरु गरिरहेको छ ।
नगरकोट भ्रमण वर्ष २०८२ को तयारी स्वरुप नै सार्वजनीक शौचालय निर्माण, प्रतिक्षालय निर्माण, होलिङ बोर्ड राख्ने जस्ता कार्य जारी राखेको नगरपालिकाले बुधबार भक्तपुरबाट नगरकोट प्रवेश गर्ने प्रवेशद्धार निर्माणको काम शूरु गरेको छ । नगर प्रमुख जीवन खत्रीले नगरपालिकाको वडा नंं ५ र ७ को सिमाना यातु मन्दिर गेट नजिकै नगरकोट प्रवेशद्वारको शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रममा नगरपालिकाका नगर उपप्रमख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाई, नगर प्रवक्ता जनक खत्री, वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडका, वडा नंं ७ का कार्यवाहक वडाध्यक्ष श्याम काजी नयाँजुलगायत जनप्रतिनिधिहरु सहभागि हुनुहुन्थ्यो ।
नगर प्रमुख खत्रीले नगरकोट भ्रमण वर्षको तयारी तीब्र बनाइएको बताउनुभयो । नगर प्रमुख खत्रीले पर्यटनमार्फत आर्थिक विकासमा टेवा पुर्याउने संकल्पका साथ भ्रमण वर्ष मनाउने निर्णय गरिएको र सोही अनुसार ऐतिहासिक धिमे बाजा प्रतियोगिता समपन्न गरिएको बताउनुहुँदै भ्रमण वर्षलाई भब्य र ब्यवस्थित बनाउनका लागि आवश्यक पूर्वाधार निर्माणका कार्य भइरहेको जानकारी गराउनुभयो ।
नगरपालिकाले पर्यटकीय नगरी नगरकोटमा पर्यटक सूचना केन्द्रको समेत स्थापना गरिसकेको छ । वडा नंं ६ स्थित महामञ्जुश्री चोकमा नगरकोट भ्रमण वर्ष २०८२ को पूर्व तयारी स्वस्वप पर्यटक सूचना केन्द्रको स्थापना गरिएको हो । त्यस्तै, आगामी २०८२ बैशाख १ गते भ्रमण वर्ष घोषणा गर्दै वर्षभरि नै यहाँको कला, संस्कृतिको प्रचार प्रसार तथा पर्यटन प्रबद्र्धन गरिनेछ ।
प्रकृतिको अलौकिक सौन्दर्य हेर्दै देश तथा विदेशका पर्यटक मोहित हुने गर्दछन् । नगरकोटको सौन्दर्यलाई अझैं प्रवद्र्धन गर्न सके पर्यटक आवागमनमा वृद्धि भई स्थानीयको आर्थिक समृद्धि सुनिश्चित हुने थियो । यसैको लागि चाँगुनारायण नगरपालिका लागिरहेको छ ।
नगरकोट भ्रमण वर्ष २०८२ एक्लैको प्रयासले पक्कै सम्भव छैन । यसमा सरोकार सबैको साथ आवश्यक छ । सबैले हातमा हात साथमा साथ मिलाए मात्र नगरकोटलाई विश्वसामु चिनाउन सकिन्छ । स्थानीय सरकारको यो प्रयासलाई संघ तथा प्रदेश सरकारले पनि साथ दिनुपर्ने देखिन्छ ।