चाँगुनारायण : चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाउनको लागि नगरपालिकाले आफ्नै ऐन, नीति, नियम, कार्यविधि र योजनाहरु बनाई विपद् जोखिम न्यूनीकरण सम्बन्धि विभिन्न कार्यक्रम तथा गतिविधिहरु संचालन गर्दै आएको बताउनुभयो ।
आइसेट नेपाल तथा डिसिए नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा चाँगुनारायण नगरपालिकामा सञ्चालित नेक्सस परियोजना अन्तर्गत विपद् जोखिम मुल्यांकन तथा योजना तर्जुमा कार्यशालाको उद्घाटन गर्नु हुँदै चालु आर्थिक वर्षमा नगरपालिकाले विपद् व्यवस्थापनको लागि ६ करोड ३० लाख बजेट बिनियोजन गरेको जानकारी गराउनुभयो ।
नगर प्रमुख खत्रीले यस वर्षको मनसुनबाट क्षति भएका भौतिक संरचनाहरु पूर्ननिर्माणको लागि योजनामा छुट्याएको बजेटबाट १० प्रतिशत रकम कटौती गरी विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय कार्यपालिका बैठकले गरेको जानकारी दिनुभयो ।
उहाँले पूर्ननिर्माणको लागि आवश्यक थप बजेट तथा योजनाको लागि प्रदेश तथा संघीय सरकार समक्ष अनुरोध गरिएको पनि बताउनुभयो । नगर प्रमुख खत्रीले बार्षिक रुपमा गरीने विपद् जोखिम मूल्यांकन कार्यले नगरपालिकाले विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा पुरा गर्नुपर्ने मापदण्ड र क्षमता अभिवृद्धिको लागि मार्गदर्शन गर्ने बताउनुभयो ।
नगर उपप्रमुख रमेश बुढाथोकीले विपद्को समयमा सर्वप्रथम समुदायका मानिसनै परिचालित हुने भएकाले नगरपालिकाले समुदायमा प्रथम उद्धारकर्ता तयार गरीे विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार वडास्तरमा कृत्रिम घटना अभ्यास गरेर समुदायलाई सम्भावित विपद्संग सामना गर्नको लागि सक्षम बनाउने बताउनुभयो । उहाँले यस वर्ष आगलागी, बाढी, पहिरो, हुरीबतास र जनावर आतंकबाट प्रभावित ३४ परिवारलाई राहत वितरण गरिएको जानकारी दिनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाँइले वार्षिक रुपमा विपद् सम्बन्धी योजनाहरु अद्यावधिक गर्दै नगरपालिकाको नयाँ भवनमा स्थानीय आपत्कालिन कार्य सञ्चालन केन्द्र सञ्चालन गरेको बताउनुभयो । उहाँले उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग गर्दै नगरपालिकाले विपद् पूर्वतयारी तथा प्रतिकार्यका कामहरु गर्दै आएको बताउनुभयो ।
उहाँले विपद् उत्थानशील समुदाय निर्माण गर्ने कार्यमा नगरपालिकालाई नेक्सस परियोजना मार्फत आर्थिक तथा प्राविधिक सहयोग गर्दै आउनुभएकोमा आइसेट नेपाल र डिसिए नेपाल लगायत साझेदार संस्थाहरु प्रति आभार व्यक्त गर्नुभयो ।
आइसेट नेपालका कार्यकारी निर्देशक कंचनमणि दिक्षितले नगरपालिकासंगको साझेदारीमा संचालित नेक्सस परियोजना मार्फत संचालित गतिविधिहरु र नगरपालिकाले आफ्नै पहलमा तय गरेका विपद् जोखिम न्यूनीकरणका गतिविधिहरुका कारण उल्लेख्य प्रगती गरेको बताउनु भयो । उहाँले नेक्सस परियोजना मार्फत चाँगुननारायण नगरपालिकासंग विपद् व्यवस्थापनको क्षेत्रमा सहकार्य गर्न पाएकोमा नगरपालिका प्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
परार्मदाता सुरेश भट्टराई तथा दिपक मरहठ्ठाले प्र्कोप जोखिम न्युनीकरणका लागि संयुक्त राष्ट्रसंघ कार्यालयले शहरहरुका लागि तयार गरेको विपद् उत्थानशीलता स्कोर माथिको प्रस्तुतीकरण गर्नु भएको थियो भने उहाँले अघिल्लो वर्ष चाँगुनारायण नगरपालिकाले प्राप्त गरेको अंकभार र पुरा गरेका मापदण्डको बारेमा पुनरावलोकन गर्नुभएको थियो ।
संयुक्त राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण स्कोर कार्ड प्रणाली विपद् जोखिम न्यूनीकरण कार्यक्रमको लागि राष्ट्रसंघले तयार पारेको हो । यो संयुक्त राष्ट्रसंघ सचिवालयको एक अंग हो । यसले सेन्डाई ढाँचा अनुरुप विपद् जोखिम न्यूनीकरण कार्यक्रम लागू गर्न र पूनरावलोकन गर्न सहयोग गर्दछ । सेन्डाई ढाँचाको चार मुख्य प्राथमिकताहरु यसमा समावेश गरीएको छ ।
कार्यक्रममा वडा नं २, ४, ६ र ७ का वडा अध्यक्षहरु क्रमशः सोम प्रसाद प्रधान, रोज बहादुर तामाङ्ग, धन बहादुर लामा, श्याम कृष्ण नँयाजु श्रेष्ठ, ८ नं वडाका कार्यवाहक वडाध्यक्ष अनिता नेपाली, ९ नं का वडा सदस्य विद्यापति पुवार थापा, ५ नं का वडा सदस्य प्रभुराम थापा, आइसेट नेपालका कार्यकारी निर्देशक कन्चनमणि दिक्षित, डिसिएका कार्यक्रम व्यवस्थापन दिनेश गुरुङ्ग, नगरपालिकाका विपद् व्यवस्थापन इकाई प्रमुख दिनेश थापा, परामर्शदाता सुरेश भट्टराई, दिपक मरहठ्ठा, आइसेट नेपालका कार्यक्रम संयोजक अशोक महर्जन, फिल्ड अधिकृत भरत ढुंगाना, ९ वटै वडाका वडा सचिवहरु लगायत नगरपालिकाका तथा आइसेट नेपालका कर्मचारीहरु गरी ४० जनाको उपस्थिती रहेको थियो ।