नगरकोट-कमलविनायक सडक माथिल्लो निकायबाट नजर-अन्दाज गरिंदा मानिसमा वितृष्णा पैदा भयो, अब कडा कदम चाल्छौ: जीवन खत्री

भक्तपुर: चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले भक्तपुर कमलविनायक देखि नगरकोट पुग्ने सडक पुनर्निर्माणका लागि पटकपटक आग्रह गर्दा पनि राज्यले बेवास्ता गरेको भन्दै नगरपालिकाले अब कडा कदम चाल्नुपर्ने अवस्था आएको बताउनु भएको छ ।

शुक्रबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजित ”नगरकोट भ्रमण वर्ष २०८२ को तयारी र समग्र चाँगुनारायण नगरपालिकाको समृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख खत्रीले माथिल्लो निकायबाट वेवास्था गरिंदा आम मानिसमा बितृष्ण पैदा भएकोले अब भने कडा कदम चाल्न बाध्य भएको बताउनुभयो ।

मेयर खत्रीले भन्नुभयो, ”हामीले यतिसम्म गर्यौं कि यो राज्य र क्षेत्र हेर्ने मान्छेसँग नगरपालिका लाग्नुपर्ने बाध्यकारी अवस्था हो की भनेर हामीले अनुभव गरिसक्यौँ। अब विभाग र नेपाल सरकारले यो विषयलाई नजर अन्दाज गरेर मानिसमा वितृष्णा पैदा हुने गरि काम गरेर हामी आजित भैसक्यौँ। म सञ्चारकर्मी मार्फत आग्रह गर्न चाहन्छु यदि नगरकोटको बाटो भ्रमण वर्षलाई प्रभावित पर्ने गरी सम्बन्धित निकायले सडक विभाग, नेपाल सरकारको भौतिक पूर्वाधार मन्त्रालय र सङ्घीय सरकारले यसलाई नजरअन्दाज गर्ने हो भने नगरपालिका यो सरकारका विरुद्ध सिंहदरबारमा अनशन बस्न परेपनि पछि पर्ने छैनौँ।”

उहाँले नगरकोट भ्रमण वर्ष २०८२ को सम्पूर्ण तयारी लगभग पूरा भइसकेको भए पनि सडक पुनर्निर्माणको कामले गति लिन नसक्दा दुखी भएको बताउनुभयो । उहाँका अनुसार भ्रमण वर्ष वैशाख १ गतेदेखि सुरु हुनेछ तर सडकको दुरावस्था कायम रहे भ्रमणलाई नकारात्मक प्रभाव पर्ने छ।

नगर प्रमुख खत्रीले राज्यका सम्बन्धित निकायहरूलाई पटकपटक ध्यानाकर्षण गराउँदै आइरहे पनि समस्याको समाधान गर्न चासो नदेखाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ”सरकारको उदासीनता र लापरवाहीकै कारण हामी सिंहदरबारमा अनसन गर्न बाध्य हुने अवस्थामा पुगिसकेका छौ ।” उहाँले जनताको चासो र मागको अनादर गरेर सरकारले स्वयं जनआक्रोश निम्त्याउने काम गरेको बताउनुभयो ।

भ्रमण वर्षको क्रममा वर्षभरि नगरपालिकाको वडा नं १ देखि ९ सम्मकै सम्पूर्ण क्षेत्रमा रहेको ऐतिहासिक सम्पदा, कला, संस्कृति, प्राकृतिक सौन्दर्यता, विभिन्न जातीय चाडपर्व, यहाँका उत्पादनलगायत बारेमा स्वदेशी तथा विदेशी पर्यटकलाई जानकारी दिने उद्देश्यले भ्रमण वर्ष आयोजना गरिएको बताउनुभयो ।

नगर प्रमुख खत्रीले थप्दै भन्नुभयो, “विसं २०८२ भित्र एक लाख विदेशी पर्यटक र लाखौँ आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यका साथ दीर्घकालीन रूपमा नगरकोटको विकास र समृद्धिको यात्रा तय गर्न नगरकोट भ्रमण वर्ष–२०८२ को तयारी सुरू गरेका छौँ, नगरवासीका प्रत्येक घरघरबाट सहभागिता रहने गरी भ्रमण वर्ष मनाउँछौँ, यसले नगरकोटको लुकेका सयौँ विषय र संरचनालाई उठाउने छ भन्ने विश्वास लिएका छौँ ।”

भ्रमण वर्ष भव्य रूपमा सम्पन्न गर्न रु पाँच करोडको बजेट विनियोजन गरेको बताउँदै उहाँले विभिन्न समिति एवं उपसमिति गठन गरी सबै नगरवासीको सहभागिता रहने गरी भ्रमण वर्ष मनाउने स्पष्ट पार्नुभयो ।

नगरकोटबाट देखिने सूर्योदय, सूर्यास्त र हिमाली दृश्य मात्र नभई १ देखि ९ वडासम्म सम्म पर्यटकलाई पुर्‍याउने र यहाँका बारेमा देश र विदेशमा सन्देश प्रवाह गर्न भ्रमण वर्ष सफल हुने उहाँले बताउनुभयो ।

नगर प्रमुख खत्रीले भ्रमण वर्षमा आउने पर्यटकलाई नगरकोटको साथै भक्तपुर, काभ्रेको मण्डनदेउपुर, बनेपा, काठमाडौँको शङ्करापुर नगरपालिकाका होटल एवं यहाँका होमस्टेमा सुविधायुक्त रूपमा खान र बस्ने व्यवस्थापन गरिने पनि बतानुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै चाँगुनारायण नगरपालिका ६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले नगरकोट पर्यटकीय मात्र होइन ऐतिहासिक र पुरातात्विक र प्राचीन किम्वदन्तीका समेत अनेकौँ कथा बोकेको स्थल भएकोले भ्रमण वर्ष सफल पर्न यस्ता कुराहरू पनि समेट्न जरुरी रहेको बताउनुभयो ।

प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसी, स्वतन्त्र पार्टीका चाँगुनारायण नगर समितिका अध्यक्ष रोशन थापालगायतले भ्रमण वर्ष सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।