चाँगुनारायण नगरपालिकामा ‘मेट्रीक घर नम्बर तथा ठेगाना प्रणाली’ शूरु

हेल्मेटडाँडा: चाँगुनारायण नगरपालिकामा ड्रोन ईमेजमा आधारित ‘मेट्रीक घर नम्बर तथा ठेगाना प्रणाली’ शूरु गरिएको छ ।

सोमबार आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख जीवन खत्रीले हेल्मेट डाँडामा अवस्थित नगरपालिकाको भवन र वडा नंं ८ को रातोपाटी स्थित महामञ्जुश्री-नगरकोट सडकका केहि घरमा नेम प्लेट राखी ‘मेट्रिक घर नम्बर प्रणाली’ सुरु गर्नुभयो ।

यो प्रणालीमा मूल सडकको मुख्य बिन्दुदेखि मिटर (दुरी) का हिसाबले घरमा ‘नम्बरिङ’ गरिन्छ । मूल सडकको मुख्य बिन्दु देखि जति दुरी (मिटर)मा घर अवस्थित छ, त्यति नै नम्बर उक्त घरलाई दिइनेछ ।

सो अवसरमा नगर प्रमुख खत्रीले नगरलाई ‘डिजिटलाइज’ गर्ने अभियान अन्तर्गत नागरिक र स्थानीय सरकारबीच सहज पहुँचका लागि घर नम्बर प्रणाली लागु गरिएको बताउनुभयो ।

मेयर खत्रीले चालु आर्थिक वर्षभित्रै नगरका सबै घरमा मेट्रीक घर नम्बर तथा ठेगाना प्रणाली लागू गरिसक्ने बताउनुभयो ।

यो प्रणाली शूरु गर्न पाउँनु आफैमा खुसीको कुरा भएको बताउँदै नागरिकका सबै सेवालाई यो प्रणालीसँग जोड्न सकेमा नगरबासीलाई सेवा प्रवाहमा सहज हुने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईँले यो प्रणालीबाट हरेक घरको जानकारी नगरपालिकालाई हुने हुँदा नागरिकका सेवा प्रवाहमा सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।

नगर प्रवक्ता तथा वडा नंं ८ का वडाध्यक्ष जनक खत्रीले नगरलाई प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत यो प्रणालीको शूरुवात गरिएको उल्लेख गर्नुभयो ।

नगरपालिका योजना शाखा प्रमुख तथा सूचना अधिकारी अनुप लामिछानेले सञ्चालन गर्नु भएको कार्यक्रममा विभिन्न विषय विज्ञहरुले मेट्रीक घर नम्बर तथा ठेगाना प्रणालीको बारेमा प्रष्ट पार्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा वडा नंं २ का वडाध्यक्ष सोम प्रधान, ४ का वडाध्यक्ष रोज बहादुर तामाङ, ५ का वडाध्यक्ष जयन्द्र खडका, ६ का वडाध्यक्ष धन बहादुर लामा, ७ का वडाध्यक्ष श्यामकृष्ण नयाजु श्रेष्ठ, ९ का वडाध्यक्ष गणेश त्यातसहित कार्यापालिका सदस्यहरु तथा जनप्रतिनिधिहरु, शाखा प्रमुख तथा सरोकारवालाहरुको सहभागिता थियो ।