चाँगुनारायण नगरका युवाले गरे नमूना नगर सभा

खरिपाटी: चाँगुनारायण नगरपालिकाका युवाले नमूना नगर सभा गरेका छन् । नगरपालिकाको आयोजनामा सञ्चालीत कार्यक्रममा युवाहरुले नमूना नगर सभा सञ्चालन गरेका हुन ।

नगरभित्रका १८ वर्षदेखि २५ वर्ष उमेर समूहका युवाहरुलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको हो । उनीहरुले नगरसभा कसरी सञ्चालन हुन्छ, को को सहभागि हुन्छन् र के के काम हुन्छ भन्ने विषयमा जानकारी लिने अवसर पाएका छन् ।

युवाहरुले नगरपालिकाले गर्ने जस्तै गरि नीति तथा कार्यक्रम, बजेट र विभिन्न्न विधेयकहरु प्रस्तुत गरेका थिए । प्रस्तुत विषयमा नगर सभा सदस्यहरुले दफाबार रुपमा छलफलमा भाग लिएका थिए भने छलफलपछि नगर सभाबाट सर्वसम्मत रुपमा पारित गरिएको थियो । विशेष गरि नगर सभा सदस्यहरुले नगरपालिकाको वर्तमान अवस्था, समस्या, चुनौती र गर्नुपर्ने कामका विषयमा जानकारी गराउने प्रयास गरेका थिए ।

समापन कार्यक्रममा सहभागि हुनु भएको प्रमुख अतिथि प्रतिनिधिसभा सांसद डा. चन्द्र भण्डारीले पनि पुरै समय युवाहरुले प्रस्तुत गरेको नमूना नगर सभा हेर्नु भएको थियो ।

डा. भण्डारीले युवाहरुले निकै उत्कृष्ठ रुपमा नमूना नगर सभा सञ्चालन गरेकोमा प्रशंसा गर्दै मुलुकको अग्रगामी रुपान्तरण र समृद्धिको लागि युवाहरु क्रियाशील भएर लाग्नुपर्ने बताउनुभयो । अबको मुलुक युवाहरुले नै बनाउने भन्दै देशको आर्थिक, सामाजीक र राजनीतिक विषयमा लिडर भएर आफ्ना कुरा राख्न सक्ने सक्षम र योग्य ब्यक्ती बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सांसद सुरेश श्रेष्ठले युवाहरुले देशका नेताहरुलाई आलोचना गर्ने मात्र नभई राजनीतिक क्षेत्रमा राम्रा ब्यक्तीहरुलाई लाग्न प्रेरित गर्नुपर्ने र युवाहरु सचेत हुनुपर्ने बताउनुभयो ।

नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नगरपालिकाले युवाहरुको क्षमता अभिबृद्धि गर्न र लुकेको क्षमता प्रस्फूटन गर्ने उद्देश्यले नगर सभा आयोजना गरिएको बताउनुभयो । मेयर खत्रीले नगरपालिकाले युवा लक्षित अन्य विभिन्न कार्यक्रम पनि सञ्चालन गरिरहेको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्दै लगिने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र कर्मचारीलगायको पनि सहभागिता रहेको थियो ।