चाँगुनारायण अस्पतालले मनायो तेस्रो वार्षिकोत्सव, दन्त सेवा र ल्याब सेवा शूरु

भक्तपुर : चाँगुनारायण नगर अस्पतालले तेस्रो वार्षिकोत्सवको अवसर पारेर दन्त उपचार सेवाको सुरुवात गरेको छ । साथै सुविधा सम्पन्न आधुनिक प्रयोगशालाको पनि शुभारम्भ गरेको छ ।

दाँत सम्बन्धी परिक्षण र परामर्श सेवा, दाँतको डिजिटल एक्सरे, दाँत सफा तथा गिजाको रोगको उपचार, किरा लागेको दाँतको उपचार, दाँतको जरै देखिको उपचार, दाँत निकाल्नेलगायत दाँत सम्बन्धि सम्पूर्ण सेवा प्रदान चाँगुनारायण अस्पतालले जनाएको छ ।

बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले अस्पतालको तेस्रो वार्षिक उत्सवका अवसरमा दन्त सेवाको शुभारम्भ गर्नुहुँदै जनस्वास्थ्यका विषयमा तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले चाँगुनारायण अस्पतालको लागि प्रदेशबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

नगरअस्पतालबाट प्रदान गर्ने सेवाहरुको व्यवस्थापनमा नगरपालिकाले महत्व दिएको चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले बताउनुभयो ।

चाँगुनारायण अस्पतालबाट २४ सै घण्टा सेवा प्रदान भइरहेको जानकारी गराउँनुहुँदै अस्पतालका प्रमुख डाक्टर शैलेस त्वायनावासुले थप सेवाहरु सञ्चालनका लागि नगरपालिका, प्रदेश तथा सरोकारवालाको सहयोग र समन्वय आवश्यक भएको बताउनुभयो ।

चाँगुनारायण अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष मनोजकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं.४ का वडा अध्यक्ष रोजवहादुर तामाङ, वडा नंं ५ का वडा अध्यक्ष जयन्द्र खड्का, भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमन कायस्थ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका कार्यवाहक अध्यक्ष कृष्णेश्वरी हाडा, जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रतिनिध शान्तिराम खतिवडा, चाँगुनारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवाल, अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, कर्मचारी, महिला स्वयंसेविकालगायतको उपस्थिति रहेको थियो ।

चाँगुनारायण अस्पतालले नियमित स्वाथ्य जाँचसँगै निःशुल्क अक्सिजन, एम्बुलेन्स सेवा, विमालगायतका सेवाहरु प्रदान गर्दै आएको चाँगुनारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले बताउनुभयो ।