भक्तपुरका सांसद रूकेश रञ्जितले दिए रास्वपाको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी

चितवन — भक्तपुर क्षेत्र नं. १ बाट तीन दशकभन्दा लामो राजनीतिक वर्चस्व तोड्दै ऐतिहासिक विजय हासिल गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रूकेश रञ्जितले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ।

भक्तपुरको राजनीतिक परिदृश्यमा लामो समयदेखि स्थापित शक्ति संरचना भत्काउँदै जनविश्वासका आधारमा विजय हासिल गर्नुभएका रञ्जित अब पार्टीको केन्द्रीय नेतृत्वमा भूमिका विस्तार गर्ने उद्देश्यसहित महाधिवेशनमा सहभागी हुनुभएको हो।

उम्मेदवारी घोषणासँगै उहाँका समर्थकहरूले व्यापक मतसहित विजयी गराउन आह्वान गरेका छन्। समर्थकहरूले उहाँलाई “जनताको भावना बुझ्ने, सुख–दुःखमा साथ दिने र इमानदार नेतृत्व” को प्रतिनिधि नेताका रूपमा चित्रण गरेका छन्।

आगामी महाधिवेशनमा उहाँको उम्मेदवारीले पार्टीको आन्तरिक नेतृत्व संरचनामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। साथै, “हाम्रो मत, सही नेतृत्वलाई” भन्ने नारासहित उहाँलाई केन्द्रीय सदस्यमा विजयी गराउन समर्थकहरूले अपिल गरेका छन्।