भक्तपुर: चाँगुनारायण नगरपालिकाले नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरसँग सम्झौता गरेको छ ।
नगर प्रमुख जीवन खत्री र रेडक्रस भक्तपुर शाखाकी कार्यवाहक सभापति कृष्णश्वरी हाडाबीच चालु आर्थिक वर्षमा नगबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन सम्झौता गरेको हो ।
गत वर्षदेखि चाँगुनारायण नगरपालिकाले नेपालमै पहिलो पटक नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराएको थियो । कार्यक्रममा रेडक्रसका केन्द्रीय उपमहामन्त्री तथा भक्तपुर सभापति मनोज कुमार थापा, प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीलगायत सहभागि हुनुुहन्थ्यो ।
नगर प्रमुख खत्रीले चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममार्फत नगरबासीलाई नि:शूल्क रगत र चाँगुनारायण अस्पतालको अक्सिजन प्लान्टबाट उत्पादन भएको अक्सिजन निशुल्क उपलब्ध गराउने ब्यवस्था गराउने घोषणा गर्नु भएको थियो । सोही घोषणाअनुसार नि:शुल्क रगत उपलब्ध गराउन सम्झौता गरेको नगर प्रमुख खत्रीले जानकारी दिनुभयो ।