प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने
भक्तपुर, ११ भदौ : भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउन चाँगुनारायण नगरपालिकाले कुल ५० लाख ३५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको तथा प्रभावित नागरिकलाई तत्काल राहत र उद्धारको आवश्यकता देखिएपछि चाँगुनारायण नगरपालिकाले आफ्नो तर्फबाट सहयोग गर्ने निर्णय गरेको हो।

स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार बाढी प्रभावित नागरिकलाई सहयोग गर्ने प्रक्रिया अघि बढाइएको हो। त्यसपछि नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा शाखा प्रमुख तथा सम्बन्धित पदाधिकारीहरूको सहभागितामा बसेको बैठकले सहयोग रकम जुटाउने तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने विषयमा निर्णय गरेको नगर प्रमुख खत्रीले जानकारी दिनुभयो।
नगर प्रमुख खत्रीका अनुसार सहयोग रकम विभिन्न स्रोतबाट जुटाइनेछ। स्थानीय विपद् व्यवस्थापन कोषबाट १० लाख रुपैयाँ, जनप्रतिनिधि तथा कर्मचारीबाट २० लाख ३५ हजार रुपैयाँ र चाँगुनारायण नगरपालिकाका शिक्षकहरूबाट १३ लाख रुपैयाँ संकलन गरिनेछ।
जनप्रतिनिधिहरूबाट उनीहरूले पाउने एक महिनाको सेवा–सुविधाबापतको रकम तथा कर्मचारीहरूबाट तहगत रूपमा तलब कटौती गरी सहयोग रकम जुटाउने व्यवस्था गरिएको छ। त्यस्तै, नगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरूबाट समेत सहयोग संकलन गरिने निर्णय भएको छ।

नगरपालिकाका अनुसार विभिन्न स्रोतबाट संकलन हुने उक्त रकमलाई एकीकृत गरी कुल ५० लाख ३५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। उक्त कोषमार्फत बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापना कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भोटेकोशी बाढीका कारण प्रभावित क्षेत्रमा ठूलो क्षति भएको अवस्थामा विभिन्न स्थानीय तह, संघसंस्था तथा व्यक्तिहरूबाट समेत राहत तथा उद्धारका लागि सहयोग जुटाउने क्रम जारी छ।

यही क्रममा चाँगुनारायण नगरपालिकाले पनि आफ्नो स्रोत तथा जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूको सहभागिताबाट सहयोग रकम जुटाएर विपद् प्रभावित नागरिकलाई सहयोग गर्ने निर्णय गरेको हो।

