भोटेकोशी बाढीपछि घाइतेको उपचारमा रगत अभाव हुन नदिन चाँगुनारायणमा आकस्मिक रक्तदान, नगर प्रमुख खत्रीद्वारा आफैँ रक्तदान गरेर उद्घाटन

भक्तपुर, ११ भदौ : भोटेकोशी बाढीपछि घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन चाँगुनारायण नगरपालिका कार्यालय, खरिपाटीमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख जीवन खत्रीले स्वयं रक्तदान गरेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा १६५ जना रक्तदाताले रक्तदान गरेका छन्।

उइ लभ उ फाउण्डेसन तथा नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखाको आयोजना र चाँगुनारायण नगरपालिकाको व्यवस्थापनमा आयोजित कार्यक्रममा नगर प्रमुख जीवन खत्री, प्रमुख प्रशासकीय अधिकृत माेहन कुमार श्रेष्ठ तथा नगर विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा नं. २ का वडाध्यक्ष सोम प्रधान लगायतको सहभागिता रहेको थियो।

विपद्को यस विषम परिस्थितिमा बाढीपहिरोका कारण घाइते भएकाहरूको उपचारमा रगतको अभाव हुन नदिन आकस्मिक रूपमा रक्तदान कार्यक्रम आयोजना गरिएको नगर प्रमुख खत्रीले बताउनुभयो ।

उहाँले विपद्को समयमा सबै एकजुट भएर मानवीय सेवामा जुट्न आग्रह गर्नुभयो।