भक्तपुर, ८ साउन : चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारी तथा स्वीस रेडक्रसको सहयोगमा सञ्चालित ‘स्वस्थ्य बुढ्यौली (सहारा) परियोजना’ अन्तर्गत ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ।

विश्व ज्येष्ठ नागरिक दिवसको अवसरमा चाँगुनारायण नगरपालिका–हेल्मेटडाँडास्थित नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरभित्रका ९ वटा ज्येष्ठ नागरिक मिलन चौतारीलाई खेल सामग्री वितरण गर्नुका साथै नसर्ने रोगसम्बन्धी हाजिरीजवाफ प्रतियोगितालगायत विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा नगरप्रमुख जीवन खत्रीले ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य तथा सक्रिय जीवनशैली प्रवर्द्धनका लागि यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो।

उहाँले ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र योगदानलाई समाज निर्माणमा जोड्न स्थानीय तहले आवश्यक सहकार्य र पहललाई निरन्तरता दिने धारणा व्यक्त गर्नुभयो।

त्यस्तै, सामाजिक विकास समिति संयोजक तथा वडा नं. ८ का वडाध्यक्ष जनक खत्री, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति रामेश्वर थापा, कोषाध्यक्ष प्रेमप्रसाद खतिवडा, चाँगुनारायण नगरपालिका सामाजिक विकास शाखा प्रमुख नीला कुमारी घिमिरे, नगरपालिका कर्मचारी तथा ९ वटै ज्येष्ठ नागरिक मिलन चौतारीका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमले ज्येष्ठ नागरिकबीच आपसी मिलन, मनोरञ्जन, स्वास्थ्य सचेतना तथा सक्रिय सहभागितालाई प्रोत्साहन गर्नुका साथै ज्येष्ठ नागरिकप्रति सम्मान र सामाजिक उत्तरदायित्वको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।





