जीपीएससहितको ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, रात्रिकालीन बस र क्यासलेस भाडा प्रणाली अघि बढाइँदै
काठमाडौं उपत्यकामा सार्वजनिक यातायातलाई सहज, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप्लिकेसन सार्वजनिक गरिएको छ।
संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को तेस्रो बैठकमा एप सार्वजनिक गरिएको हो।
एपमार्फत जीपीएस जडान भएका करिब १ हजार २ सय सार्वजनिक सवारी साधन कहाँ छन् र आफूले पर्खिएको स्थानमा पुग्न कति समय लाग्छ भन्ने जानकारी लिन सकिनेछ।
बैठकमा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री परिषद् सदस्यका रूपमा सहभागी हुनुभयो।
उपत्यकाको सार्वजनिक यातायातलाई पालिकाको सीमाभन्दा माथि उठाएर साझा प्रणालीका रूपमा विकास गर्नुपर्ने विषयमा बैठकमा विशेष छलफल भएको थियो।

बैठकले बस स्टपर तथा पिक–ड्रप प्वाइन्ट निर्धारण, रात्रिकालीन बस सेवा सञ्चालन, मुख्य बस स्टप तथा बसपार्कमा जीपीएसमा आधारित यातायात सूचना प्रणाली जडानलगायतका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।
साथै, स्थानीय तहसँगको साझेदारीमा नगदरहित (क्यासलेस) भाडा प्रणाली लागू गर्न आवश्यक कानुनी पूर्वाधार तयार गर्ने कार्यक्रमसमेत स्वीकृत गरिएको छ।
परिषद्का अध्यक्ष काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले उपत्यकाको सार्वजनिक यातायातलाई सरल, सहज र पहुँचयुक्त बनाउन दिन तथा रात्रिकालीन सेवा विस्तार गर्नुपर्ने बताउनुभयो।
विद्यार्थीलाई लक्षित गर्दै बिहानैदेखि सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उहाँले यसका लागि स्थानीय तहबीच वित्तीय साझेदारी र समन्वय आवश्यक रहेको बताउनुभयो।
परिषद्का उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यात्रुले सार्वजनिक बस चढ्दा सहजता महसुस गर्ने गरी यातायात प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो।
३५ सदस्यीय परिषद्को कार्यसम्पादनलाई चुस्त बनाउन ९ सदस्यीय स्टेरिङ कमिटीसमेत गठन गरिएको छ।
स्टेरिङ कमिटीमा काठमाडौं महानगरपालिकाका प्रमुखको अध्यक्षतामा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीसहित सम्बन्धित निकायका प्रतिनिधि सदस्य रहेका छन्।
उपत्यकाको सार्वजनिक यातायातलाई रियल टाइम सूचना प्रणाली, जीपीएस ट्र्याकिङ, क्यासलेस भाडा प्रणाली र रात्रिकालीन सेवासहित यात्रुमैत्री बनाउने लक्ष्यसहित अघि बढाइएको यो पहलले चाँगुनारायणसहित काठमाडौं उपत्यकाका सबै स्थानीय तहलाई एउटै सार्वजनिक यातायात प्रणालीमा जोड्ने अपेक्षा गरिएको छ।
