भक्तपुर, साउन १५ – चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित दुवाकोट तिलगंगा सामुदायिक आँखा केन्द्र आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा केन्द्रको समुद्घाटन गरिएको हो।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री, वडा नं. २ का अध्यक्ष सोम प्रधान, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ–संस्था, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको अवसरमा ज्येष्ठ नागरिकका लागि निःशुल्क आँखा परीक्षण सेवा समेत सञ्चालन गरिएको थियो। सामुदायिकस्तरमै सहज, सुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री सुरेश श्रेष्ठले चाँगुनारायण नगरपालिकाले स्थानीय तहबाट स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा गरिरहेको कामको प्रशंसा गर्दै प्रदेश सरकारको तर्फबाट आवश्यक पर्ने हरेक सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो।

स्थानीय तहको स्वास्थ्य सेवा सुदृढीकरण र विकासका लागि प्रदेश सरकारबाट आवश्यक सहयोगमा कुनै कन्जुसी नगर्ने उल्लेख गर्दै आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको विकासका लागि निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।

नगर प्रमुख जीवन खत्रीले चाँगुनारायणका सम्पूर्ण नगरवासीका लागि मोतियाबिन्दुको शल्यक्रिया (अपरेसन) निःशुल्क गरिने जानकारी दिनुभयो।

ज्येष्ठ नागरिकका लागि आँखा परीक्षणसँगै मोतियाबिन्दुको उपचारसमेत निःशुल्क उपलब्ध गराइँदै आएको उल्लेख गर्दै उहाँले आफू निर्वाचित भएपछि नगरवासीलाई निःशुल्क रगत तथा अक्सिजन सेवा उपलब्ध गराउने व्यवस्था सुरु गरिएको र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी नागरिकमुखी कार्यक्रमहरू सञ्चालन गरिएको बताउनुभयो।

त्यस्तै, वडा नं. २ का अध्यक्ष सोम प्रधानले वडामा नियमित स्वास्थ्य शिविर, घुम्ती स्वास्थ्य सेवा तथा ज्येष्ठ नागरिकमैत्री कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिँदै यस्ता कार्यक्रमले स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

यसै अवसरमा चाँगुनारायण नगरपालिकाका मोतियाबिन्दु भएका नागरिकलाई निःशुल्क शल्यक्रिया (अपरेसन) सेवा उपलब्ध गराउने सम्बन्धमा चाँगुनारायण नगरपालिका र ख्वप तिलगंगा आँखा अस्पतालबीच सहमतिपत्र (एमओयू) मा हस्ताक्षर तथा कागजात हस्तान्तरण गरिएको थियो।

सहमतिपत्रमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री र तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले हस्ताक्षर गर्नुभएको थियो। यसअघि चाँगुनारायण नगरपालिकाको १८ औँ नगरसभाले नगरवासीलाई निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया (अपरेसन) सेवा उपलब्ध गराउने निर्णय गरेको थियो।

सोही निर्णयको कार्यान्वयनस्वरूप दुवाकोट तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ।

केन्द्र सञ्चालनमा आएसँगै स्थानीय नागरिकले आफ्नै नगरभित्र सहज, सुलभ र गुणस्तरीय आँखा उपचार सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।






