दुवाकोटमा सामुदायिक आँखा केन्द्र सञ्चालनमा आउँदै, ज्येष्ठ नागरिकलाई निःशुल्क आँखा परीक्षण हुने

भक्तपुर, साउन १३ – चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा सामुदायिक आँखा केन्द्र सञ्चालनमा आउने भएको छ। बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यमा साउन १५ गते बिहान ११:०० बजे दुवाकोट स्वास्थ्य चौकी–२ मा केन्द्रबाट सेवा शुभारम्भ गरिनेछ।

कार्यक्रमको अवसरमा ज्येष्ठ नागरिकका लागि निःशुल्क आँखा परीक्षण सेवा समेत सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। सामुदायिकस्तरमै सहज, सुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो।

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले जनप्रतिनिधि, स्थानीयवासी, सरोकारवाला निकाय तथा सम्पूर्ण नगरवासीलाई कार्यक्रममा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन हार्दिक आमन्त्रण गर्नुभएको छ।

यसअघि नगरपालिकाको १८औँ नगरसभाले नगरवासीलाई निःशुल्क मोतियाबिन्दुको आँखाको शल्यक्रिया (अपरेसन) सेवा उपलब्ध गराउने निर्णय गरेको थियो। सोही निर्णयलाई कार्यान्वयन गर्ने क्रममा सामुदायिक आँखा केन्द्र सञ्चालनमा ल्याउन लागिएको नगरपालिकाको विश्वास छ।