राजस्व संकलनदेखि दैनिक सेवा प्रवाह प्रभावित, तत्काल स्थायी समाधानको माग
भक्तपुर, साउन १४ : स्थानीय तहमा राजस्व संकलन तथा वित्तीय व्यवस्थापनका लागि प्रयोग हुँदै आएको सञ्चित कोष व्यवस्थापन ‘सूत्र’ प्रणाली पछिल्लो समय पटक–पटक अवरुद्ध हुँदा चाँगुनारायण नगरपालिकाको सेवा प्रवाह प्रभावित बनेको छ।
प्रणाली नियमित रूपमा सञ्चालन हुन नसक्दा राजस्व बुझाउन पुगेका सेवाग्राही घण्टौँ लाइनमा बस्न, पटक–पटक कार्यालय धाउन र कतिपय अवस्थामा सेवा नै नपाई फर्किन बाध्य भएका छन् ।
डिजिटल माध्यमबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको ‘सूत्र’ प्रणाली नै पटक–पटक अवरुद्ध हुन थालेपछि स्थानीय तहका दैनिक प्रशासनिक कार्य, राजस्व संकलन तथा नागरिकलाई प्रदान गरिने अत्यावश्यक सेवामा प्रत्यक्ष असर परेको छ। प्रणाली नचल्दा सेवाग्राही मात्र होइन, कर्मचारीसमेत दबाबमा परेका छन्।
चाँगुनारायण नगरपालिकाले ‘सूत्र’ प्रणालीमा देखिएको निरन्तर प्राविधिक समस्याका कारण साउन ८ गतेसम्म राजस्व संकलन सेवा नै स्थगित गरेको थियो । तर त्यसपछि पनि बारम्बार अवरुद्ध हुँदा हैरानी खेप्न्नु परिरहेको छ ।
नगरप्रमुख जीवन खत्रीले सेवाग्राहीहरूले सेवा अवरुद्ध हुनुको दोष नगरपालिकालाई दिइरहेको भए पनि वास्तविक समस्या नगरपालिकाको नभई महालेखा नियन्त्रक कार्यालयअन्तर्गत सञ्चालन भइरहेको ‘सूत्र’ प्रणालीको प्राविधिक कमजोरीका कारण उत्पन्न भएको बताउनुभयो।
उहाँका अनुसार नगरपालिकाले सम्बन्धित निकायलाई पटक–पटक समस्या समाधानका लागि आग्रह तथा ध्यानाकर्षण गराए पनि प्रभावकारी सुनुवाइ हुन सकेको छैन। प्रणाली कहिले चल्ने र कहिले बन्द हुने अनिश्चित अवस्थाले नगरपालिकामात्र होइन, सबै वडा कार्यालयका राजस्व काउन्टरसमेत प्रभावित भएका छन् ।
यसका कारण राजस्व संकलन ठप्प भएको छ भने कर तथा अन्य राजस्व भुक्तानी गर्न नसक्दा व्यवसाय दर्ता तथा नवीकरण, नक्सा पास, सिफारिसलगायतका नियमित सेवा पनि प्रभावित भएका छन्। यसको प्रत्यक्ष मार सेवाग्राहीहरूले खेपिरहेका छन् भने स्थानीय तहले अनाहकमा आलोचना र अपजस बोक्नुपरेको नगरपालिकाको भनाइ छ ।
चाँगुनारायण नगरपालिकाले ‘सूत्र’ प्रणालीलाई स्थिर, भरपर्दो र नियमित रूपमा सञ्चालन हुने गरी तत्काल सुधार गर्न सम्बन्धित निकायसँग पुनः आग्रह गरेको छ।
