कांग्रेस जनप्रतिनिधिको पार्टी एकताका लागि राष्ट्रिय दबाब अभियान, साउन २७ मा भेला

गोपालमान श्रेष्ठको निधनका कारण साउन १६ को भेला स्थगित, देवानगञ्ज घटनाप्रति पनि गम्भीर चिन्ता

काठमाडौँ, १३ साउन : नेपाली कांग्रेसका जनप्रतिनिधिहरूले पार्टीभित्रको आन्तरिक कलह अन्त्य गरी बृहत्तर एकता कायम गर्न नेतृत्वलाई दबाब दिने उद्देश्यले ‘पार्टी एकताका लागि संयुक्त राष्ट्रिय दबाब अभियान’ सुरु गरेका छन्।

अभियानले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा कांग्रेसभित्रको वर्तमान अन्तरविरोधले नागरिक स्वतन्त्रता, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय एकतामै नकारात्मक असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ।

यसअघि साउन १६ गतेका लागि तय गरिएको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको राष्ट्रिय भेला नेता गोपालमान श्रेष्ठको निधनका कारण शोक व्यक्त गर्नुपर्ने भएकाले सरेर साउन २७ गतेका लागि तय गरिएको अभियानका संयोजक तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

विज्ञप्तिमा कांग्रेसले आफ्नो स्थापना कालदेखि नै निरङ्कुशताविरुद्ध सङ्घर्ष गर्दै आएको स्मरण गराउँदै वर्तमान परिस्थितिमा नागरिक अधिकारको रक्षाका लागि पार्टीभित्रको बलियो एकता अपरिहार्य रहेको उल्लेख गरिएको छ।

अभियानले सुनसरीको देवानगञ्ज क्षेत्रमा देखिएको धार्मिक द्वन्द्व तथा साम्प्रदायिक तनावप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समाजमा बढ्दो अराजकता र असहिष्णुताले देशलाई सङ्कटतर्फ धकेल्न सक्ने भन्दै सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग अपिल गरिएको छ। साथै, घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

अभियानले पार्टी सभापतिसहित शीर्ष नेताहरूसँगको छलफल सकारात्मक रहेको उल्लेख गर्दै औपचारिक भेला सरे पनि पार्टी एकताका लागि अनौपचारिक दबाबका कार्यक्रम भने निरन्तर सञ्चालन हुने जनाएको छ।

साथै, देशभरका शुभेच्छुक र समर्थकलाई आ–आफ्नो स्थानबाट पार्टी नेतृत्वलाई एकताका लागि निरन्तर दबाब दिन आग्रह गरिएको छ।