चाँगुनारायण नगरपालिकाद्वारा करदातालाई विशेष राहत, राजस्व छुट तथा सहुलियत घोषणा

भक्तपुर, साउन ८ : चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि करदातालाई लक्षित गर्दै विभिन्न राजस्व छुट तथा सहुलियतका कार्यक्रम सार्वजनिक गरेको छ।

नगरसभाबाट स्वीकृत आर्थिक ऐन, २०८३ अनुसार करदातालाई प्रोत्साहन गर्ने, करको दायरा विस्तार गर्ने तथा नगरको आन्तरिक राजस्वलाई व्यवस्थित बनाउने उद्देश्यले विशेष छुट तथा सहुलियत लागू गरिएको हो।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार २०८३ असोज मसान्तभित्र सम्पत्ति कर तथा भूमि कर बुझाउने करदाताले वार्षिक कर रकममा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

सामाजिक सुरक्षा भत्ता, गम्भीर रोग, दुर्घटना, महामारी तथा राहत, अनुदान र बीमासम्बन्धी सिफारिसहरूमा समेत कर छुटको व्यवस्था गरिएको छ।

यस्तै महिला, दलित, अल्पसंख्यक, द्वन्द्वपीडित, लोपोन्मुख, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको नाममा नयाँ दर्ता हुने व्यवसायमा १० प्रतिशत कर छुट दिइने नगरपालिकाले जनाएको छ।

विगतदेखि सञ्चालनमा रहे पनि नगरपालिकामा दर्ता नभएका उद्योग तथा व्यवसायलाई दर्ताको अवसर दिँदै पुरानो कर र जरिवाना मिनाहा गर्ने व्यवस्था गरिएको छ। त्यसैगरी नवीकरण नभएका व्यवसायले असोज मसान्तभित्र नवीकरण गरेमा पुरानो जरिवाना छुट हुने जनाइएको छ।

यसका अतिरिक्त १० लाख रुपैयाँसम्म पुँजी भएका व्यवसाय सम्बन्धित वडा कार्यालयबाटै दर्ता तथा नवीकरण गर्न सकिने, सडकबत्ती शुल्क हटाइएको, पानी उद्योग तथा पानी ट्याङ्की सञ्चालन गर्ने संस्थालाई अनिवार्य दर्ता गर्नुपर्ने तथा काँचो इँटा उत्पादनका लागि दिइँदै आएको अस्थायी अनुमति बन्द गरिएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख जीवन खत्रीले करदातालाई उपलब्ध गराइएको छुट तथा सहुलियतको अधिकतम लाभ लिन समयमै कर बुझाउन आग्रह गर्नु भएको छ । उहाँले समयमै कर तिर्ने संस्कृतिले नगरको विकास, सेवा प्रवाह र पूर्वाधार विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

साथै चालु आर्थिक वर्षदेखि सूत्र प्रणालीमार्फत करदाताको विवरण अद्यावधिक गरिने भएकाले नागरिकता, बहाल सम्झौता, जग्गाधनी प्रमाणपूर्जा लगायत आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालय वा नगरपालिकामा उपस्थित हुन सबै करदातालाई अनुरोध गरिएको छ।