बारम्बारका परिपत्र तथा निर्णय अटेरी गर्ने ८ विद्यालयलाई तत्काल निमित्त प्रधानाध्यापक व्यवस्था गर्न निर्देशन

भक्तपुर, साउन ७ : नगर शिक्षा समितिको निर्णय तथा चाँगुनारायण नगरपालिकाबाट पटक–पटक जारी गरिएका परिपत्र कार्यान्वयन नगर्ने ८ सामुदायिक विद्यालयलाई नगरपालिकाले तत्काल निमित्त प्रधानाध्यापकको व्यवस्था गर्न कडा निर्देशन दिएको छ।

शिक्षा निर्देशक जनार्दन रिजालद्वारा जारी पत्रमा नगर शिक्षा समितिको मिति २०८३/०१/०४ र २०८३/०१/२८ का निर्णय तथा मिति २०८३/०३/३१ मा जारी गरिएको परिपत्रसमेत हालसम्म कार्यान्वयन नभएको उल्लेख गर्दै सम्बन्धित विद्यालयलाई तत्काल निर्णय कार्यान्वयन गर्न भनिएको हो।

पत्रअनुसार शिक्षा नियमावली, २०५९ बमोजिम नियमित प्रधानाध्यापकको व्यवस्था नभएसम्म सम्बन्धित तहका वरिष्ठ शिक्षकलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिई विद्यालयको प्रशासनिक तथा शैक्षिक कार्य नियमित सञ्चालन गर्नुपर्ने व्यवस्था छ। तर केही विद्यालयले नगरपालिकाको निर्णय र निर्देशन कार्यान्वयन नगरेपछि पुनः कडा निर्देशन जारी गरिएको हो।

नगरपालिकाले देवी माध्यमिक विद्यालय (वडा नं. ९), फैढाेका आधारभूत विद्यालय (वडा नं. ९), पञ्चकन्या माध्यमिक विद्यालय (वडा नं. ५), बागेहिणि माध्यमिक विद्यालय (वडा नं. ७), गणेश माध्यमिक विद्यालय (वडा नं. ५), कालिका माध्यमिक विद्यालय (वडा नं. ६), यापी भैरव आधारभूत विद्यालय (वडा नं. ३) र गणेश आधारभूत विद्यालय (वडा नं. २) लाई तत्काल निमित्त प्रधानाध्यापकको व्यवस्था मिलाई सोको जानकारी नगरपालिकामा पेश गर्न निर्देशन दिएको छ।

नगरपालिकाले अब पनि निर्णय कार्यान्वयनमा अटेरी नगरी शिक्षा नियमावली र नगर शिक्षा समितिको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न सम्बन्धित विद्यालय व्यवस्थापन समिति र वरिष्ठ शिक्षकलाई निर्देशन दिएको जनाएको छ।