चाँगुनारायण नगरपालिका र नेपाल इन्जिनियरिङ कलेजबीच समझदारी, विद्यार्थीलाई ३ महिने अनिवार्य इन्टर्नशिपदेखि परियोजना सहयोगसम्म अवसर

दुवाकाेट, जेठ १८ : चाँगुनारायण नगरपालिका, भक्तपुर र नेपाल इन्जिनियरिङ कलेजबीच शिक्षा, सीप विकास, नवप्रवर्तन तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित महत्वपूर्ण सहकार्य सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार विद्यार्थीहरूलाई व्यवहारिक सीप अभिवृद्धिका लागि न्यूनतम तीन महिनाको अनिवार्य इन्टर्नशिप अवसर प्रदान गरिनेछ भने नवप्रवर्तन तथा परियोजना प्रस्तावहरूका लागि नगरपालिकाबाट आवश्यकताअनुसार आर्थिक सहयोग, मार्गदर्शन र सहजीकरणसमेत उपलब्ध गराइनेछ।

नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ र नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य दुर्गप्रसाद आचार्यले समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको हो ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीको उपस्थितिमा उक्त समझदारीपत्र आदान–प्रदान गरिएको हो।

सम्झौताअनुसार नगरपालिकाले कलेजका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई नवप्रवर्तन, उद्यमशीलता र सीप विकासमा प्रोत्साहन गर्नेछ। साथै नगरपालिका अन्तर्गतका वडा कार्यालयमार्फत विद्यार्थीहरूलाई व्यवहारिक अनुभवका लागि इन्टर्नशिप अवसर सुनिश्चित गरिनेछ।

त्यस्तै, कलेजका नवीन सोच, प्रविधि तथा परियोजना प्रस्तावहरू छनोट भएमा नगरपालिकाले आवश्यक सहयोग र मार्गदर्शन प्रदान गर्ने व्यवस्था गरिएको छ।

नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य दुर्गप्रसाद आचार्यले यो सहकार्यले शिक्षालाई व्यवहारसँग जोड्दै विद्यार्थीलाई भविष्यउन्मुख सीप विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “यो सहकार्यले विद्यार्थीहरूलाई कक्षाकोठाको ज्ञानलाई व्यवहारमा उतार्ने अवसर दिनेछ र स्थानीय सरकारसँगको सहकार्यले नवप्रवर्तन र उद्यमशीलतालाई थप मजबुत बनाउनेछ।”

यो सहकार्यले स्थानीय सरकार र शैक्षिक संस्थाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै व्यवहारिक शिक्षा, सीप विकास र नवप्रवर्तनमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।