भक्तपुरका जिल्ला समन्वय समिति प्रमुख ईश्वर थापाको निधन

भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख तथा नेकपा (एमाले) भक्तपुरका नेता ईश्वर थापाको सोमवार दिउँसो निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका थापाको ६५ वर्षको उमेरमा निधन भएको हो ।

सूर्यविनायक नगरपालिका–७ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रविन्द्र सापकोटाका अनुसार थापा विगत दुई सातादेखि मुटु तथा उच्च रक्तचापसम्बन्धी समस्याका कारण अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा सोमवार दिउँसो करिब २ः३० बजे उनको निधन भएको हो ।

नेता थापाको निधनप्रति नेकपा (एमाले) लगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनको पार्थिव शरीरलाई सोमवार साँझ पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि लैजाने कार्यक्रम तय गरिएको जनाइएको छ ।

स्वर्गीय थापा भक्तपुरको स्थानीय राजनीति तथा जनप्रतिनिधित्व क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुखका रूपमा उनले जिल्लाको विकास र समन्वयमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

उनका श्रीमती, एक छोरा र तीन छोरी रहेका छन् । उनको निधनले भक्तपुरको राजनीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको स्थानीय नेताहरूले बताएका छन् ।