खरीपाटी, जेठ १० — भक्तपुरको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेको चाँगुनारायण नगरपालिकालाई औपचारिक रूपमा ‘योग नगर’ घोषणा गरिएको छ।

चाँगुनारायण नगरपालिका वडा नं. ७ खरीपाटीस्थित विद्युत तालिम केन्द्रमा आयोजित भव्य समारोहमा वागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ ले घोषणा–पत्र वाचन गर्दै चाँगुनारायणलाई ‘योग नगर’ घोषणा गर्नुभएको हो।

कार्यक्रममा बोल्दै वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले योग नगरको ब्राण्डिङले चाँगुनारायणको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले योग, संस्कृति र पर्यटनलाई एकीकृत गर्दै चाँगुनारायणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुभयो।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्य ले योग नगरको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशासनिक तथा प्राविधिक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रमको सभापतित्व नगरप्रमुख जीवन खत्रीले गर्नुभएको थियो। कार्यक्रममा ‘चाँगु योग ज्योति सन्देश’ नामक स्मारिकाको समेत विमोचन गरिएको थियो।

कार्यक्रमको प्रारम्भमा पातञ्जल योग समिति नेपाल का संरक्षक बालमुकुन्द सुवाल ले योग साधना गराउँदै वातावरणलाई ऊर्जामय बनाउनु भएको थियो।

नगर प्रवक्ता जनक खत्री ले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सञ्चालन नगरपालिकाकी कर्मचारी रन्जना सापकोटाले गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न योग संस्थाका प्रतिनिधि, साधक तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो। साथै संघीय सांसद गुरु बराल सहित योग क्षेत्रका विज्ञहरूले योग नगर घोषणाले स्वस्थ, सकारात्मक र अनुशासित समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो।

समापन मन्तव्यमा नगरप्रमुख जीवन खत्रीले योगलाई नगरको दीर्घकालीन नीति र जीवनशैलीसँग जोड्ने प्रतिबद्धता व्यक्त गर्दै योग अब कागजमा सीमित नभई प्रत्येक वडा र टोलसम्म पुग्ने बताउनुभयो। उहाँले नगरवासीको स्वास्थ्य, सकारात्मक सोच र समृद्धिका लागि नियमित योग शिविर तथा योग शिक्षालाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो।



