भक्तपुरका एजुकेसन कन्सल्टेन्सीमाथि प्रहरीको छापा, सञ्चालकहरू नियन्त्रणमा, अनुसन्धान जारी

भक्तपुर, २ जेठ : वैदेशिक अध्ययनका नाममा अनुमति बिना सञ्चालन भइरहेका शैक्षिक परामर्श संस्थामाथि प्रहरीले कडाइ गरेको छ। सोही अभियानअन्तर्गत भक्तपुर जिल्लामा सञ्चालनमा रहेका ५ वटा एजुकेसन कन्सल्टेन्सी अनुसन्धानको दायरामा परेका छन्।

अनुगमन तथा छापा अभियानअन्तर्गत काठमाडौं उपत्यकाभित्र विभिन्न स्थानमा रहेका ६९ वटा कन्सल्टेन्सी तथा भाषा केन्द्र अनुसन्धानको दायरामा परेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा सञ्चालनमा रहेका कन्सल्टेन्सीहरूमा छापा मार्दै सञ्चालक तथा सम्बन्धित व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

प्रहरीका अनुसार अनुमति बिना शैक्षिक परामर्श सेवा सञ्चालन गर्ने, भ्रामक विज्ञापन गर्ने, विद्यार्थी तथा अभिभावकबाट रकम असुल्ने तथा वैदेशिक अध्ययनका नाममा गैरकानुनी गतिविधि सञ्चालन गर्ने संस्थामाथि कारबाही गरिएको हो।

भक्तपुर जिल्लामा मात्र ५ वटा संस्था अनुसन्धानको दायरामा परेका छन्, जसमा हिमालयन एजुकेसन ग्रुप सर्भिस (कमलबिनायक), ग्रीनर एजुकेसन कन्सलटेन्सी, आयुमी नेपाल गपाली, ग्लोबल इम्प्याक्ट एजुकेसन कन्सलटेन्सी (मध्यपुर थिमी), ए टु जेड जापान एण्ड कोरियन भाषा रहेका छन्।

यस घटनाले वैदेशिक शिक्षा परामर्श क्षेत्रको नियमन र पारदर्शिताबारे गम्भीर प्रश्न उठाएको छ। अनुमति बिना सञ्चालन हुने यस्ता संस्थामाथि अझ कडा निगरानी आवश्यक रहेको सरोकारवालाहरूको धारणा छ।