चाँगुनारायण नगरपालिकाको राजस्व २१ करोड नाघ्यो, आर्थिक सुधारमा उल्लेखनीय प्रगति

भक्तपुर, ३ बैशाख । चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्षमा २१ करोड रुपैयाँभन्दा बढी आन्तरिक राजस्व संकलन गरेको छ।

नगरपालिकाका अनुसार सम्पत्ति कर, मालपोत, व्यवसाय कर, सवारी कर, सेवा शुल्क तथा विभिन्न प्रशासनिक दस्तुरमार्फत कुल २१ करोड ४० लाख २० हजार ९०२ रुपैयाँ राजस्व संकलन भएको हो।

आर्थिक वर्ष ०८२/०८३ को तेस्रो त्रैमासिकसम्म नगरको आन्तरिक आम्दानी निरन्तर वृद्धि हुँदै गएको देखाएको छ।

स्थानीय स्रोत परिचालनमा सुधार आएकाले विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको नगरपालिकाले जनाएको छ।

आगामी दिनमा राजस्व संकलनको दायरा अझ विस्तार गर्ने लक्ष्य समेत राखिएको छ।