भक्तपुर (खरीपाटी) : चाँगुनारायण नगरपालिकाले सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीहरूको परिचयपत्र नविकरणका लागि थप समयावधि दिएको छ। सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली २०८२ को नियम ९ को उपनियम १ बमोजिम लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता नविकरण गर्नुपर्ने प्रावधानअनुसार यो सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले भदौ मसान्तभित्र नविकरण गरिसक्न आग्रह गरे तापनि विभिन्न कारणवश नविकरण नगरेका लाभग्राहीहरूको सूची सार्वजनिक गर्दै उनीहरूलाई यथाशीघ्र नविकरण प्रक्रिया सम्पन्न गर्न अनुरोध गरेको छ ।
यसका लागि सम्बन्धित लाभग्राही वा तिनका परिवारका सदस्यहरूले आवश्यक कागजातसहित नगरपालिका वा वडा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। नविकरण नगरेमा आगामी महिनाको भत्ता रोक्का हुन सक्ने जनाइएको छ।
नगरपालिकाले एक सूचना प्रकाशन गर्दै १६ जना लाभग्राहीहरूको नाम, जन्म मिति र नागरिकता नम्बरसमेत उल्लेख गरेको छ, जसले हालसम्म परिचयपत्र नविकरण गर्न बाँकी राखेका छन्। सूचीमा विभिन्न उमेर समूहका बालबालिका, जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरू र विधवाहरू समावेश छन्।
नगरपालिकाका अनुसार यस्ता सूचना जारी गर्नुको उद्देश्य सबै लाभग्राहीहरूलाई सेवा प्रवाहमा कुनै अवरोध नहोस् भन्ने हो। समाजकल्याण शाखाका प्रमुखले नगरबासीलाई आवश्यक कागजात लिएर यथाशीघ्र सम्पर्क गर्न पुनस् आग्रह गरेका छन्।



