काठमाडौँ, असोज ७ — दसैं नजिकिँदै गर्दा देशभरका स्थानीय तहले आफ्ना कर्मचारीलाई समयमै तलब दिन नसक्ने अवस्थामा पुगेका छन्। सरकारी भुक्तानी प्रणाली ‘सुत्र’ मा आएको समस्याको कारण तलब समेत खुवाउन नसक्ने अवस्थामा पुगेका हुन ।
सरकारका अनुसार, भदौ २३ र २४ गते भएको ‘जेनजी प्रदर्शन’ का कारण सुत्र प्रणाली झण्डै एक साता बन्द भयो। त्यो बेला पछि प्रणाली खुले पनि अहिले दैनिक चाप अत्यधिक छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार अहिले सबै पालिकाहरुले एकैपटक सुत्र प्रणाली प्रयोग गरिरहेका छन्। दसैं नजिकिँदै गर्दा भुक्तानी, कर संकलन, खर्च, लेखा परीक्षण, प्रतिवेदन तयारी जस्ता धेरै काम एकै समयमा परेका छन्। यस्तो हुँदा प्रणालीको क्षमता कमजोर भएर धेरैलाई समस्या भएको हो।
प्रणालीले धेरै भार थेग्न नसक्ने महालेखाको भनाइ छ। अहिले कार्यालय समय बाहेकका बेला र विदाको दिन समेत प्रणाली सुधारको काम भइरहेको जनाइएको छ। त्यसैले सुत्र प्रणाली कहिले काहीँ काम नगर्ने र सुस्त हुने अवस्था आएको हो।
धेरै स्थानीय तहले बिहान ७ बजे देखि नै कर संकलन गर्न थालेका छन्। तर त्यसबेला प्रणाली अझै बढी सुस्त हुने गरेको छ। खासगरी बिहान र दिउँसो ११ देखि ३ बजेसम्म प्रयोगकर्ता अत्यधिक हुने भएकाले सुत्र प्रणाली अझै सुस्त हुन्छ। महालेखाका अनुसार अहिले इलेक्ट्रोनिक फन्ड ट्रान्सफर सर्भरको क्षमता बढाउने काम पनि भइरहेको छ। तर त्यो काम सकिन अझै केही दिन लाग्न सक्छ।


