काठमाडौं — भदौ २३ र २४ गते देशभर फैलिएको जेनजी आन्दोलनको क्रममा नेपाली कांग्रेसका शीर्ष नेतादेखि केन्द्रीय सदस्यसम्मको घरमा आगजनी गरिएको छ। आन्दोलनकारीहरूले कांग्रेस सभापति शेरबहादुर देउवासहित ३६ जना नेताका घरहरू र ४८ जिल्ला पार्टी कार्यालयहरूमा आगो लगाएका हुन्।
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले आइतबार सार्वजनिक गरेको विस्तृत विवरण अनुसार, सभापति देउवाको निवाससँगै उपसभापति पूर्णबहादुर खड्काको काठमाडौँ र सुर्खेतस्थित घरमा आगजनी भएको छ।
महामन्त्री गगनकुमार थापाको काठमाडौंको रातोपुलस्थित घर, महामन्त्री विश्वप्रकाश शर्माको ललितपुर र झापाको घर, सहमहामन्त्री उमाकान्त चौधरीको बारामा रहेको घर, महेन्द्र यादवको धनुषास्थित घर, बद्रीप्रसाद पाण्डेको काठमाडौँस्थित डेरा, तथा कोषाध्यक्ष उमेश श्रेष्ठका चितवनका दुई घरहरूमा समेत आगो लगाइएको विवरणमा उल्लेख छ।
त्यसैगरी, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला तथा डा. शशांक कोइरालाका घरहरू पनि पूर्णरूपमा ध्वस्त पारिएको छ।
पूर्वसहमहामन्त्री डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा। प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, सञ्जय गौतम, कृष्णचन्द्र नेपाली पोखरेल, शंकर भण्डारी, दीपक गिरी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, रामजनम चौधरी, डा. गोपाल दहित, मदनकृष्ण श्रेष्ठ, अर्जुनप्रसाद जोशी, आनन्द ढुंगाना, राजेन्द्र केसी, विनोद चौधरी, गेहेन्द्र गिरी, राजीव ढुंगाना र अनिल रुङगटाको घरमा पनि आगजनी भएको पुष्टि गरिएको छ।
जेनजी आन्दोलनले पार्टीको संरचनामा ठूला क्षति पुर्याएको छ। केन्द्रीय कार्यालयसहित ४८ जिल्लाका पार्टी कार्यालयहरू पूर्ण रूपमा ध्वस्त पारिएको विवरणमा उल्लेख छ।
जलेका जिल्ला कार्यालयहरूमा झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर, ललितपुर, काठमाडौँ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, ग्याग्दी, बागलुङ, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, डोल्पा, जुम्ला, मुगु, कालिकोट, सुर्खेत, डोटी, अछाम, दार्चुला, डडेलधुरा, कञ्चनपुर र कैलाली पर्दछन्।
बागमती प्रदेश सभापति तथा मुख्यमन्त्री इन्द्र बानिया र मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवका घरहरूमा समेत आन्दोलनकारीले आगो लगाएका छन्। त्यस्तै, जिल्ला तथा स्थानीय तहका ९५ नेताको घर जलाइएको कांग्रेसले जनाएको छ ।
विभिन्न स्थानमा भएका घटनाहरूले नेपाली कांग्रेसको भौतिक र संगठनात्मक संरचनामा ठूलो क्षति पुर्याएको छ। पार्टीले यसप्रति गम्भीर ध्यानाकर्षण गराउँदै यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

