विश्व उसु च्याम्पियनसिपका लागि चाँगुनारायणकी सुस्मितासहित नेपाली टोली ब्राजिल प्रस्थान, नगरपालिकाले गर्‍यो भव्य बिदाई

भक्तपुर (खरीपाटी): १७ औं विश्व उसु च्याम्पियनसिप २०२५ मा सहभागी हुन नेपाली खेलाडी ब्राजिल प्रस्थान गरेका छन् । आगामी सेप्टेम्बर १ देखि ८ तारिखसम्म ब्राजिलको ब्रासिलिया शहरमा आयोजना हुने प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रतियोगितामा सहभागी हुने नेपालका राष्ट्रिय खेलाडीहरुमा दिपक हमाल, सुस्मिता तामाङ, विजय सिंजाली र निमा घर्ती मगर रहनु भएको छ। ब्राजिल प्रस्थान गर्नुअघि नेपाली खेलाडीलाई आइतबारै एक कार्यक्रमका बीच नेपाल उसु महासंघले बिदाई गरेको थियो ।

त्यस्तै, उसु खेलाडी सुस्मितालाई चाँगुनारायण नगरपालिकाको तर्फबाट विशेष सम्मानसाथ बिदाई गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठसहित खेल प्रशिक्षकहरूको उपस्थितिमा आयोजित बिदाई कार्यक्रममा सुस्मितालाई खादा र माला लगाई बिदाई गरिएको हो ।

नगर खेलकुद संयोजक रघु केसी स्वयं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगेर सुस्मितालाई बिदाई गर्नुभयो । सोही खेलको लागि सुस्मितालाई यसअघि नगरपालिकाले खेल सामाग्री समेत हस्तान्तरण गरेको थियो । नगरपालिकाका नगर प्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीले खेल सामाग्री हस्तान्तरण गर्दै शुभकामना समेत ब्यक्त गर्नु भएको थियो ।

विगत लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निरन्तर उपलब्धि हासिल गर्दै आउनु भएकी सुस्मिताले यसअघिका दक्षिण एसियाली खेलकुदहरूमा स्वर्ण र रजत पदक जितेर मुलुकको नाम उच्च बनाइसक्नु भएको छ । त्यस्तै, विभिन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जित्दै उहाँले आफ्नो क्षमता प्रमाणित गरिसक्नु भएको छ ।