चाँगुनारायणमा नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वस्थ जीवन प्रवद्र्धन कार्यक्रम

खरीपाटी: जिल्ला आर्यूवेद तथा वैकल्पिक चिकित्सा कार्यालयको प्राविधिक सहयोगमा चाँगुनारायण नगरपालिकामा नसर्ने रोगको रोकथाम तथा नियन्त्रणको लागि स्वस्थ जीवन प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको छ । बुधबार आयोजना गरिएको कार्यक्रम नगरपालिकाका कार्यवाहक नगर प्रमुख रमेश बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उपप्रमुख बुढाथोकीले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा थुप्रै काम गरिरहेको बताउनुभयो । नगरबासीलाई नि:शुल्क रगत र अक्सिजन वितरण गर्नेदेखि नगर अस्पताललाई ब्यवस्थित बनाउँदै सेवा विस्तारमा लागिपरेको उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यक्रम वडा-वडामा गरेर ब्यापक रुपमा जनचेतना फैलाउनुपर्नेमा जोड समेत दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले नसर्ने रोग भयावह बनेर फैलिरहेको बताउनुभयो । उहाँले समयमै रोगको पहिचान गरी रोकथाम गर्न सके कम खर्चमै दीर्घरोगबाट जोगिन सकिने भएकाले रोगबाट बच्न खानपिनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

जिल्ला आयुर्वेदिक कार्यालयका कार्यालय प्रमुख डा.नदन कँडेलले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वस्थ जीवन प्रवद्र्धनको लागि गर्नुपर्ने दिनचर्या र खानपानसम्बन्धी अभिमुखीकरण गर्नुभएको थियो ।

कार्यक्रममा चाँगुनारायण नगर अस्पतालका मेसु डा. अर्जुन कार्की, स्वास्थ्य शाखा प्रमुख दिल बहादुर सुवाल, वडा नंं २ का वडाध्यक्ष सोम प्रधान, वडा नंं ९ का वडाध्यक्ष गणेश त्यातलगायत कार्यापालिका सदस्यहरु, विभिन्न शाखाका कर्मचारीहरु पनि सहभागि हुनुहुन्थ्यो ।

नसर्ने रोग लाग्नबाट बच्न धूमपान तथा सूर्तीजन्य पदार्थ सेवन नगर्ने, मदिराको हानिकारक सेवन नगर्ने, शारीरिक रुपमा सक्रिय रहने, नुन र चिनीको प्रयोग कम गर्ने, सन्तुलित खाना, प्रशस्त मात्रामा फलफूल र सागसब्जी खाने, मानसिक तनावको व्यवस्थापन गर्ने र रिसमुक्त रहने, उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिम व्यवस्थापन गर्ने कार्य गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।