भक्तपुर, जेठ २० — भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित मञ्जुश्री गुम्बा नजिकको कलमसी क्षेत्रमा मिक्स्चर जडित ट्र्याक्टर दुर्घटना हुँदा दुई जना मजदुरको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
मंगलबार साँझ करिब ७:३० बजे नागरकोटबाट जितपुरतर्फ आउँदै गरेको ना. ५ त २८४७ नम्बरको मिक्स्चर जडित ट्र्याक्टर अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा ट्र्याक्टरमा सवार चालकसहित १२ जनामध्ये दुई जनाको मृत्यु भएको हो भने अन्य १० जना घाइते भएका छन्।
मृत्यु हुनेमा सिन्धुलीको सुनकोशी नगरपालिका–१० घर भई हाल काठमाडौं सिनामंगल बस्दै आएका २६ वर्षीय हेमबहादुर नेपाली तथा भोजपुरको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ घर भई हाल काठमाडौं सिनामंगल बस्दै आएका ३२ वर्षीय विजय राई रहेका छन्। उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको जनाइएको छ।
प्रारम्भिक जानकारी अनुसार, कलमसीस्थित एक होटलको ढलान कार्य सम्पन्न गरी फर्किँदै गरेको उक्त ट्र्याक्टर ओरालो सडकमा गुडिरहेका बेला ब्रेक फेल भएपछि नियन्त्रण बाहिर गई पल्टिएको बताइएको छ। दुर्घटनापछि ट्र्याक्टरमा सवार मजदुरहरू सडकमा छरिएका थिए।
ट्र्याक्टर चालक विरेन्द्रकुमार महतो लाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
