झौखेलमा सार्वजनिक सुनुवाइ सम्पन्न : वडाध्यक्षद्वारा ९० प्रतिशत प्रतिबद्धता पूरा भएको दाबी, सुशासन र विकासमा जोड

झौखेल , ९ जेठ । चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेलमा सार्वजनिक सुनुवाइ तथा विकास निर्माण प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्र (एनएमसी) नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहकार्यमा वडा नं. ३ स्थित शहरी स्वास्थ्य केन्द्र झौखेलमा कार्यक्रम आयोजना गरिएको हो ।

स्थानीय तहमा सुशासन, पारदर्शिता, जवाफदेहिता तथा नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय तह निर्वाचन २०७४ यता वडाले गरेका विकास निर्माण, सेवा प्रवाह, सामाजिक तथा प्रशासनिक गतिविधि, स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा भावी योजनाबारे विस्तृत समीक्षा गरिएको थियो ।

कार्यक्रममा बोल्दै वडा नं. ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालले आफ्नो नौ वर्षे कार्यकालमा निर्वाचनका क्रममा जनतासँग गरेका प्रतिबद्धतामध्ये करिब ९० प्रतिशत काम सम्पन्न भएको दाबी गर्नुभएको थियो ।

उहाँले वडामा सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, महिला तथा युवा सशक्तीकरण, सामाजिक सुरक्षा तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको बताउनुभएको थियो ।

“स्थानीय तह निर्वाचन २०७४ यता हामीले प्रत्येक दिन वडामा बसेर छलफल, समीक्षा तथा गुनासो सम्बोधन गर्ने अभ्यास गर्दै आएका छौँ,” उहाँले भन्नुभयो , “विकास निर्माणसँगै सेवा प्रवाहलाई पनि प्रभावकारी र जनमैत्री बनाउने प्रयास गरिरहेका छौँ ।”

वडा सदस्यहरू शिवराम सुलु र रमा थापाले कार्यक्रममा उठेका नागरिकका प्रश्न तथा सुझावको जवाफ दिनुभएको थियो ।

वडा सदस्य रमा थापाले लक्षित वर्गका लागि विभिन्न सीपमूलक तालिम सञ्चालन हुँदै आएको जानकारी दिनुभएको थियो । उहाँले ब्यूटी पार्लर, मोन्टेश्वरी, ड्राइभिङ, चोयाबाट सामग्री निर्माण, कफी बारिस्ता, बेकरी, मकैको खोस्टाबाट हस्तकला सामग्री, मखमली ढाकाको जुत्ता तथा झोला, साथै साबुन र सर्फ बनाउने तालिम सञ्चालन गरिएको बताउनुभएको थियो ।

उहाँले भन्नुभयो, “वडाले बेसिक र एडभान्स दुवै प्रकारका तालिम सञ्चालन गरेर स्वरोजगार र उद्यमशील जनशक्ति उत्पादन गर्ने प्रयास गरिरहेको छ ।” उहाँले वर्षमा करिब १८० जना स्थानीयलाई विभिन्न तालिममा सहभागी गराइँदै आएको पनि बताउनुभएको थियो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख निला घिमिरेले नागरिकका दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषय सार्वजनिक सुनुवाइमा उठाइनु सकारात्मक भएको बताउनुभएको थियो । उहाँले विकास निर्माणमा उपभोक्ता समिति र नागरिक दुवैको सक्रिय निगरानी आवश्यक रहेको उल्लेख गर्दै “नागरिकले आफ्नो दायित्व पनि बिर्सनु हुँदैन” भन्ने धारणा राख्नुभएको थियो ।

शान्ति सुरक्षासम्बन्धी विषयमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुवेश अधिकारीले अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रहरी निरन्तर सक्रिय रहेको जानकारी दिनुभएको थियो । उहाँले भक्तपुर जिल्लामा वार्षिक एक हजार ६ सयभन्दा बढी उजुरी पर्ने गरेको उल्लेख गर्दै तीमध्ये करिब ५४ प्रतिशत उजुरी आर्थिक अपराधसँग सम्बन्धित रहेको बताउनुभएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी प्रशासन, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकबीचको सहकार्यले मात्रै विकास र सुशासनलाई प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गरिएको थियो । रचनात्मक प्रश्न, सुझाव तथा आलोचनाले स्थानीय सरकारलाई अझ जिम्मेवार र उत्तरदायी बनाउन सहयोग पुग्ने निष्कर्ष कार्यक्रमले निकालेको थियो ।

नागरिकका अनुभव, समस्या, सुझाव तथा जिज्ञासालाई प्रत्यक्ष रूपमा समेटिएको उक्त कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्धलाई थप जवाफदेही र विश्वासिलो बनाउने अपेक्षा गरिएको थियो ।

कार्यक्रमलाई औपचारिकतामा सीमित नराखी लोकतान्त्रिक अभ्यास, सार्वजनिक उत्तरदायित्व र समाधानमुखी संवादको थलोका रूपमा विकास गर्नुपर्नेमा समेत जोड दिइएको थियो ।

पेशल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव हेमराज ढकालले गर्नुभएको थियो ।