चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”, जेठ १० मा ऐतिहासिक घोषणा

भक्तपुर — विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा पुरातात्त्विक नगर चाँगुनारायण अब “योग नगर” को रूपमा नयाँ पहिचान बनाउने भएको छ।

नगरपालिकाले नगरलाई औपचारिक रूपमा “योग नगर” घोषणा गर्ने निर्णय गरेसँगै आज नगर परिसरमा पत्रकार सम्मेलन आयोजना गरिएको छ। कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले प्रेस नोट वाचन गर्दै आगामी जेठ १० गते बागमती प्रदेशका मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा औपचारिक घोषणा कार्यक्रम हुने जानकारी दिनुभयो ।

घोषणाको पूर्वसन्ध्यामा जेठ ८, ९ र १० गते बिहान ५ बजेदेखि खरीपाटीस्थित विद्युत् तालिम केन्द्र परिसरमा वृहत् खुला योग शिविर सञ्चालन गरिनेछ। उक्त शिविर नगरवासीसँगै बाहिरका नागरिकका लागि पनि खुला रहनेछ।

नगर प्रमुख खत्रीका अनुसार बढ्दो उच्च रक्तचाप, मधुमेह, मुटुरोग तथा मानसिक तनावजस्ता नसर्ने रोगहरूको चुनौतीलाई सम्बोधन गर्न योग, ध्यान र प्राणायामजस्ता अभ्यासलाई जीवनशैलीमै समावेश गर्नु आवश्यक छ।

उहाँले भन्नु भयो , “हजारौँ वर्ष पुरानो वैदिक परम्परा र आध्यात्मिक चेतनासँग जोडिएको चाँगुनारायणलाई योग र साधनाको केन्द्र बनाउनु हाम्रो ऐतिहासिक निरन्तरता हो।”

नगरपालिकाले सबै वडामा नियमित योग शिविर, विद्यालयस्तरमा योग शिक्षा, स्थानीय योग प्रशिक्षक उत्पादन, योग पार्क तथा ध्यान केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ।

साथै, यो अभियानलाई स्वास्थ्य क्षेत्रमै मात्र सीमित नराखी आध्यात्मिक पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, होमस्टे तथा स्थानीय उत्पादन बजारसँग जोड्ने लक्ष्य पनि लिइएको छ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले स्वागत गगर्नु भएको थियो भने स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवालले सहजीकरण गर्नु भएको थियो । शिक्षा शाखा प्रमुख जर्नादन रिजाल, पत्रकार महासंघ भक्तपुर अध्यक्ष सुन्दर शिल्पकार, बागमती प्रदेश स्वास्थ्य मन्त्रालय तथा प्रादेशिक योग समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

“पहिलो सुख निरोगी काया” भन्ने मौलिक जीवनदर्शनलाई व्यवहारमा उतार्दै चाँगुनारायणलाई देशकै नमुना “योग नगर” बनाउने ऐतिहासिक अभियान जेठ १० गतेदेखि औपचारिक रूपमा सुरु हुने भएको छ।

l