महिला लक्षित सीपमूलक तालिम सम्पन्न, सहभागी महिलाहरू आत्मनिर्भरतातर्फ उन्मुख

खरिपाटी, १ जेठ — चाँगुनारायण नगरपालिकाले सञ्चालन गर्दै आएको उपप्रमुखसँग महिला लक्षित कार्यक्रम प्रभावकारी बन्दै गएको छ। यस्ता सीपमूलक तालिमहरूले स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउँदै आर्थिक सशक्तीकरणतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

सोही कार्यक्रमअन्तर्गत वडा नं. ५, छालिङमा सञ्चालन गरिएको २० दिने एडभान्स छाला तथा मखमली जुत्ता–चप्पल बनाउने तालिम सम्पन्न भएको छ। तालिमको समापन चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले गर्नुभएको हो।

समापन समारोहमा उपप्रमुख बुढाथोकीले तालिममा सहभागी महिलाहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। उहाँले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक रूपमा अघि बढ्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

तालिममा सहभागी महिलाहरूलाई जुत्ता–चप्पल निर्माणसम्बन्धी व्यवहारिक तथा व्यावसायिक सीप प्रदान गरिएको थियो। तालिम अवधिभर उनीहरूले तयार पारेका विभिन्न नमुना जुत्ता–चप्पलहरू प्रदर्शनसमेत गरिएको थियो।

कार्यक्रम समन्वयक तथा कार्यपालिका सदस्य निर्मला केसीले तालिमपछि सहभागी महिलाहरू निकै उत्साहित र खुसी भएको बताउनुभयो। उहाँका अनुसार तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न महत्वपूर्ण सहयोग पुर्‍याएको छ।

नगरपालिकाले हरेक वर्ष उपप्रमुखसँग महिला लक्षित यस्ता सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसले स्थानीय महिलाहरूको आर्थिक सशक्तीकरणमा सकारात्मक प्रभाव पार्दै आएको छ।