दशौं भक्तपुर महोत्सव सम्पन्न, करिब १ लाखले गरे अवलोकन

भक्तपुर, ८ बैशाख : दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ भव्य रूपमा सम्पन्न भएको छ। चैत २६ गतेदेखि सुरु भएको उक्त महोत्सव १२ दिनसम्म सञ्चालन भएको थियो।

आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले महोत्सव अवधिभर करिब १ लाख दर्शकले अवलोकन गरेको जानकारी दिनुभयो। उहाँले उपभोक्तालाई दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म एउटै स्थानमा सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको बताउनुभयो।

उहाँले महोत्सवमा १५० भन्दा बढी स्टलहरू राखिएको र ती स्टलहरूमा स्थानीय उत्पादन, हस्तकला तथा विभिन्न सामग्रीहरूको प्रदर्शन गरिएको जानकारी दिनुभयो। साथै, करिब ३ करोड रुपैयाँ बराबरको व्यापार भएको उहाँले बताउनुभयो।

महोत्सवका संयोजक दीपक थापाले महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रम तथा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन तथा अन्य मनोरञ्जनात्मक खेल सामग्रीहरू समेत राखिएको बताउनुभयो।

समापन समारोहलाई सम्बोधन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले यस्ता महोत्सवले स्थानीय बजारलाई चलायमान बनाउन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भक्तपुरको सांस्कृतिक तथा पर्यटकीय गतिविधि प्रवर्द्धनमा नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

त्यसैगरी, महोत्सव अन्तर्गत आयोजित नृत्य प्रतियोगितामा रतिश गिरी प्रथम हुँदै नगद रु. २० हजार पुरस्कार प्राप्त गर्नुभयो। दोस्रो, तेस्रो तथा सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगीहरूलाई पनि नगद पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिनुभयो।