रास्वपा चाँगुनारायणको विज्ञ छलफल तयारी तीव्र, हालसम्म ५० बढीले दिए आवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समितिले विज्ञहरूसँग महत्वपूर्ण छलफल गर्ने भएको छ ।

स्थानीय विकास, सुशासन, पारदर्शिता र जनताका प्राथमिक आवश्यकताका विषयमा विज्ञहरूको सुझाव तथा अनुभव आदान–प्रदान गर्ने उदेश्यले रास्वपा चाँगुनारायण नगर समितिले यही आउदो शनिवार विज्ञहरूसँग महत्वपूर्ण छलफल गर्ने भएको हो ।

यस छलफलले आगामी नीति निर्माण र कार्ययोजनामा सकारात्मक दिशा दिने विश्वास लिइएको नगर सभापती रोशन थापाले जानकारी दिनुभयो ।

नगरको समग्र विकासका लागि दीर्घकालीन र व्यवहारिक योजना बनाउन आवश्यक रहेको औंलाउदै नगर सभापती थापाले छलफलमा उठाइएका विषयहरूले आगामी दिनमा नीति निर्माण, कार्यान्वयन र जनमुखी कार्यक्रम तय गर्न योगदान पुग्ने विश्वास पनि व्यक्ति गर्नुभयो ।

यसअघि नगर समितिका सभपाती थापाले नगरको समग्र विकास योजना निर्माण गर्ने उद्देश्यसहित विभिन्न २५ क्षेत्रमा अनुभव र दक्षता हासिल गरेका व्यक्तिहरूलाई विज्ञ समूहमा आवद्ध हुन सार्वजनिक आह्वान गर्नु भएको थियो ।

रास्वपाले इच्छुक व्यक्तिहरूलाई आफ्नो व्यक्तिगत विवरण, अनुभव र योगदान गर्न चाहेको क्षेत्र स्पष्ट खुलाएर अनलाइनमाफत् आवेदन दिन अनुरोध गरेको थियो । हालसम्म विज्ञ समूहमा आवद्ध हुन ५१ जनाले आवेदन दिएका छन् ।

नगर सभापती थापाले आवेदन दिन इच्छुक व्यक्तिहरूलाई यही बैशाख १६ गते राती १२ बजेसम्म नगर समितिले जारी गरेको क्युआर स्क्यान गरि आवेदन दिने समय तोकिएको पनि जानकारी गराउनुभयो ।

थापाले यो पहिलो चरणको छलफल हुने भन्दै यस्ता संवादलाई आगामी दिनमा पनि निरन्तरता दिँदै जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।