खरीपाटी: भक्तपुरको चाँगुनारायण नगरपालिकामा नगर खेलकुद विकास समितिको आयोजनामा चाँगुनारायण कप कबड्डी प्रतियोगिता मंसिर ६ र ७ गते हुने भएको छ। प्रतियोगितामा ७ वटा टिमले प्रतिस्पर्धा गर्ने छन्। चाँगुनारायण–५ स्थित नागथली खेलमैदानमा हुने प्रतियोगिता विहान ८ बजेदेखि सुरु हुनेछ।
नगर खेलकुद विकास समितिका अनुसार प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ। पहिलो, दोस्रो, तेस्रो र चौथौ स्थान प्राप्त टिमले ट्फी, मेडल र प्रमाणपत्रसहित आकर्षक पुरस्कारको ब्यवस्था गरिएको छ । प्रथम हुने टिमलाई २५ हजार नगद, ट्रफी र मेडल प्रदान गरिनेछ भने दोस्रो हुनेलाई १५ हजारसहित ट्रफी र मेडलको व्यवस्था गरिएको छ। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट रेडर र उत्कृष्ट डिफेन्डरका लागि पनि छुट्टाछुट्टै नगद पुरस्कार राखिएको छ। सहभागी सबै खेलाडीलाई प्रमाणपत्र प्रदान गरिने समितिले जनाएको छ।
नगर खेलकुद विकास समितिका संयोजक रघु केसीका अनुसार खेलकुदमार्फत युवालाई अनुशासन, दिगोपन र सामुदायिक एकतामा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। उहाँले स्थानीय तहमै प्रतिभा पहिचान तथा प्रोत्साहन गर्न नियमित रूपमा प्रतियोगिता सञ्चालन भइरहेको बताउनुभयो ।
समितिले यसअघि केही साताअघि मात्र नगरस्तरीय दौड प्रतियोगिता समेत सम्पन्न गरेको थियो। हालै बढ्दो खेलकुद सक्रियतामार्फत नगरपालिकाले खेल क्षेत्रको विकास तथा विस्तारमा लगातार लगानी गरिरहेको देखिन्छ। चाँगुनारायण क्षेत्रमा पहिलोपटक यति व्यवस्थित रूपमा आयोजना हुन लागेको कबड्डी प्रतियोगिताले स्थानीय खेलकुद वातावरणलाई थप उर्जाशील बनाउने अपेक्षा गरिएको छ ।
