खरीपाटी (भक्तपुर): चाँगुनारायण नगरपालिका भित्र खेलकुद गतिविधिको विकास, विस्तार र सुरक्षित सहभागिता सुनिश्चित गर्न प्राथमिक उपचार सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ। खेलकुदका क्रममा हुन सक्ने आकस्मिक दुर्घटना वा चोटपटकमा तत्काल सहयोग पुग्ने उद्देश्यले करिब एक लाख रुपैयाँ मूल्य बराबरका प्राथमिक उपचार सामग्रीहरू वितरण गरिएको हो।

कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले सामग्रीहरू हस्तान्तरण गर्नुभयो। उहाँले खेलकुद प्रतिभा विकासमा नगरपालिका सक्रिय रूपमा लागिपरेको बताउँदै, खेलकुद क्षेत्रलाई सबल र सुरक्षित बनाउन यस्ता पहलहरू अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

नगर प्रमुख खत्रीले खेलाडी उत्पादन, तालीम र खेलकुद संरचना विकासमा नगरपालिकाको निरन्तर लगानी भइरहेको उल्लेख गर्दै खेलकुदलाई सामाजिक एकता र युवाको नेतृत्व विकाससँग जोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ र नगर खेलकुद विकास समितिका संयोजक रघु केसीलगायतको उपस्थितिमा सामग्री वितरण गरिएको थियो।








