सामाजिक सुरक्षा परिचयपत्र अब असोज मसान्तसम्म नवीकरण गर्न सकिने

काठमाडौं — सरकारले सामाजिक सुरक्षा परिचयपत्रको नवीकरण गर्ने समयसीमा साउन मसान्तबाट बढाएर अब असोज मसान्तसम्म गर्न सकिने व्यवस्था गरेको छ। गृह मन्त्रालयले सामाजिक सुरक्षा नियमावली, २०७६ मा संशोधन गर्दै नयाँ व्यवस्था ल्याएको हो।

नियमावलीको नियम ९ को उपनियम १ मा पहिल्यै साउन मसान्तभित्र परिचयपत्र नवीकरण गर्नुपर्ने व्यवस्था थियो। तर, संशोधनपछि अब भदौ मसान्तभित्र भन्ने शब्द हटाई असोज मसान्तभित्र भन्ने व्यवस्था गरिएको हो।

सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिले परिचयपत्र नवीकरणका लागि प्रत्येक आर्थिक वर्षमा स्वयं उपस्थित भई सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ।

नियमावलीको दफा ८ अनुसार, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिलाई स्थानीय तहमार्फत अनुसूची २ बमोजिमको ढाँचामा सामाजिक सुरक्षा परिचयपत्र निःशुल्क प्रदान गरिनेछ।

परिचयपत्रको मान्य अवधि एक आर्थिक वर्षको हुनेछ। यदि परिचयपत्र हराएमा वा नासिएमा सम्बन्धित स्थानीय तहबाट पुनः प्रतिलिपि लिन सकिनेछ भने त्यसका लागि रु १०० शुल्क लाग्ने व्यवस्था नियमावलीमा उल्लेख छ।