काठमाडौँ — गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण मुलुकभरका विभिन्न कारागार र बालसुधारगृहबाट ठूलो सङ्ख्यामा कैदीबन्दी फरार भएका छन्। कारागार व्यवस्थापन विभागका अनुसार देशभरका २७ वटा कारागार र ९ वटा बालसुधारगृहबाट कैदीबन्दी भागेका हुन्।
ती कारागारहरूबाट जम्मा २९ हजार २१२ कैदीबन्दीमध्ये १३ हजार ५९१ जना फरार भएका छन्। त्यस्तै, एक हजार ४२२ बालसुधारगृह कैदीमध्ये ९६४ जना भागेका हुन्।
फरार भएका कैदीबन्दीहरू झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरका विभिन्न कारागारबाट भागेका हुन्।
त्यस्तै, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौबस्ता र डोटीस्थित बालसुधारगृहबाट पनि कैदीबन्दी फरार भएका छन्।
विभागका अनुसार अहिलेसम्म कारागारबाट भागेकामध्ये ५ हजार ४९५ र बालसुधारगृहबाट भागेकामध्ये २४४ जनालाई पुनः नियन्त्रणमा ल्याइएको छ।
तर अझै ८ हजार ८१६ कैदीबन्दी फरार रहेका छन्। उनीहरूको खोजी कार्य निरन्तर भइरहेको कारागार विभागले जनाएको छ।
