काठमाडौँ – अन्तरिम प्रधानमन्त्रीको रूपमा सुशिला कार्कीले आइतबार पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहणपछि सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले अत्यावश्यक संस्थाहरूमाथि छानिछानी आगजनी र विध्वंसले राष्ट्रलाई शून्यमा पुर्याएको बताउनु भयो ।
‘यो जुन हत्या, हिंसा भयो – चाहे हत्या होस्, चाहे आगजनी – ती मुलुकका अत्यावश्यक संस्थालाई लक्षित गरी गरिएको स्पष्ट छ’, प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘प्रहरी चौकीहरू, अदालतका फाइलहरू, सिंहदरबार – सम्पूर्ण जलाएर नष्ट गरियो। यो नेपालीले नेपालीमाथि गरेजस्तो देखिए पनि मलाई त यो एक प्रकारको षड्यन्त्र हो कि भन्ने लाग्दछ।’
उहाँले यो आन्दोलनबाट मुलुकले सहनु परेको जनधनको क्षति र त्यसले पर्न गएको मनोवैज्ञानिक प्रभावप्रति चिन्ता प्रकट गर्दै भन्नुभयो, ‘हामी अब अनुहार देखाउन नसक्ने अवस्थामा पुगेका छौँ। यति ठूलो क्षति हुनु दुर्भाग्यपूर्ण मात्र नभई असह्यपनि हो ।’
प्रधानमन्त्री कार्कीले आन्दोलनमा ज्यान गुमाएका विद्यार्थी र सर्वसाधारणप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुलाई शहीद घोषणा गरिएको जानकारी दिनुभयो। साथै घाइतेहरूको उपचार र पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको उल्लेख गर्दै प्रत्येक मृतक परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरिएको जानकारी दिनुभयो।
उहाँले मुलुकको आर्थिक अवस्था अत्यन्तै संकटपूर्ण रहेको बताउनुहुँदै पुनर्निर्माणका लागि साना–साना प्रयासहरूसमेत महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो। ‘तराईमा बांसका भाटाबाटै भए पनि प्रहरी बिटहरू पुनर्निर्माण गरौँ। जनताबाटै सहयोग लिएर अगाडि बढौँ’, उहाँको आग्रह थियो।
भाटभटेनी नजिकैको प्रहरी बिट निरीक्षणका क्रममा व्यापारीहरूले पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएकामा उहाँले धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, यो हाम्रो राज्यको राहत कोष बचाउने कुरा मात्र होइन, जनताको देशप्रतिको जिम्मेवारी पनि देखिएको हो।
प्रधानमन्त्री कार्कीले आफ्नो सरकारको अवधि छ महिनामात्र हुने स्पष्ट पार्दै यो सरकार सत्ताको रसस्वादनको लागि नभर्इ संकट व्यवस्थापन र पुनर्निर्माणको दायित्व बहन गर्न बनेको बताउनुभयो।
‘हामीलाई खोजियो, हामी आएका छौँ। तर, यो पदको मोह छैन। नयाँ संसद र नयाँ नेतृत्व आउँदासम्म हामीले मात्र आवश्यक व्यवस्थापन गरौँ भन्ने उद्देश्य हो’, उहाँले भन्नुभयो।
उहाँले निजी क्षेत्र, सुरक्षा निकाय, जनप्रतिनिधि, पीडित परिवार, व्यापारी समुदाय, सम्पूर्ण नेपालीहरूसँग एकताको आग्रह गर्दै भन्नुभयो हामी सबै मिलेर यो राष्ट्र पुनः निर्माण गरौँ। आलोचना होइन, सहकार्य गरि एकजुट भएर अगाडि बढौ ।

