चाँगुनारायण–५ छालिङ्गमा कांग्रेसको क्रियाशील सदस्यता वितरण, अग्रज सम्मान र नवप्रवेशी स्वागत कार्यक्रम सम्पन्न

छालिङ्ग: चाँगुनारायण नगरपालिका वडा नं. ५, छालिङ्गमा नेपाली कांग्रेसले एक भव्य कार्यक्रम आयोजना गर्दै क्रियाशील सदस्यता प्रमाणपत्र वितरण, पार्टीप्रति समर्पित अग्रज नेताहरूको सम्मान र नवप्रवेशीहरूको स्वागत कार्यक्रम सम्पन्न गरेको छ।

नगरको ऐतिहासिक मत्स्येनारायण मन्दिर प्राङ्गणमा आइतबार सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति तथा संघीय सांसद दुर्लभ थापाको प्रमुख आतिथ्यतामा भएको हो । सभापति थापाले नवप्रवेशीहरूलाई पार्टीमा खादा र टीका लगाएर स्वागत गर्नुका साथै सम्मानित अग्रज नेताहरूप्रति आभार प्रकट गर्नुभयो।

कार्यक्रममा भक्तपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति तथा चाँगुनारायण नगर प्रमुख जीवन खत्री, क्षेत्र नं. १ क का सभापति तथा वडा नं. ५ का वडाध्यक्ष जयन्द्र खडका, नगर सभापति शिवहरि केसी, बागमती प्रदेशका पूर्वमन्त्री कृष्णलाल भडेल, कांग्रेस बागमती प्रदेश सदस्य सरु बानियाँ, वरिष्ठ जिल्ला सदस्य कबिर राणा लगायतका नेताहरूले पार्टीको संगठन सुदृढीकरण, विचारदर्शन र भावी कार्यदिशाबारे धारणा राख्दै कांग्रेसलाई अझ सशक्त, संगठित र जनमुखी बनाउन सुझाव राखेका थिए।

पार्टीमा दीर्घकालीन योगदान पुर्‍याउने ३२ जना अग्रज नेता तथा कार्यकर्तालाई सम्मान गरिनुका साथै विगतका स्थानीय निर्वाचनहरूमा विजयी भएका जनप्रतिनिधिहरूको समेत योगदानलाई स्मरण गरिएको थियो।

सोही अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी कांग्रेसमा प्रवेश गरेका ६० भन्दा बढी नवप्रवेशीलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरियो। नवप्रवेशीहरूले कांग्रेसको विचार, इतिहास र सिद्धान्तप्रति प्रतिबद्ध भई जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए भने सभापति थापाले उनीहरूलाई संगठनमा सक्रिय सहभागिता जनाउन प्रेरित गर्नुभएको थियो।

वडा नं. ५ का अध्यक्ष रवी गिरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम वडा सचिव सुरेश कार्कीले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य नगर सहसचिव गोकर्ण पुरीले दिनुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू, जिल्ला तथा प्रदेश तहका पदाधिकारीहरू, तरुण दल, महिला संगठनलगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सदस्यता वितरण समितिका संयोजक तथा क्षेत्र नं. १ का क्षेत्रीय सचिव समुन्द्र थापाले भदौ १५ गतेदेखि सुरु गरिएको सक्रिय सदस्यता वितरण कार्यक्रम चाँगुनारायण नगरपालिका भित्रका सबै ९ वडामा सम्पन्न भइसकेको जानकारी दिनुभयो।

कार्यक्रमको अन्तरक्रिया सत्रमा सहभागीहरूले पार्टीभित्रको संगठनात्मक सुधार, स्थानीय तहमा कांग्रेसको भूमिका, जनतासँगको सम्बन्ध सुदृढ बनाउने उपायलगायतका विषयमा आफ्ना विचारहरू राखेका थिए।

नेताहरूले चाँगुनारायण क्षेत्रमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले विकास निर्माणमा उल्लेखनीय फड्को मारेको भए पनि त्यसलाई जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउन अझ बढी संचार र समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए।