चाँगुनारायण –ताथली) भदौ २ — गए राति परेको अविरल वर्षापछि चाँगुनारायण नगरपालिका–९ ताथलीमा एक घर अचानक धरासायी बनेपछि सम्भावित मानवीय तथा भौतिक क्षति हुनबाट जोगिएको छ ।

बर्षाले एकाएक धरासायी बनेको घरबाट हुनसक्ने दुर्घटनाबाट प्रहरीले बचाएको हो । स्थानीय रबिन केसीको घर धरासायी बनेको थियो ।

वर्षाका कारण घर चर्किन थाल्यो र भत्किने अवस्थामा पुग्यो। समयमै सूचना पाएका नगर प्रहरी टोलीले तत्परता देखाउँदै सम्भावित ठूलो दुर्घटनाबाट बचाएको चाँगुनारायण नगरपालिकाको नगर प्रहरी प्रमुख धमेन्द्र थापाले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो, “ घर भत्किन थालेको खबर प्राप्त हुनासाथ चाँगुनारायण नगरपालिकाको नगर प्रहरी टोली घटनास्थलमा पुग्यो। तत्कालै भित्र रहेका गरगहना, लुगाफाटो, र अन्य मूल्यवान सामग्रीहरू सुरक्षित स्थानमा सारियो। त्यसपछि जोखिमयुक्त संरचना भत्काइयो ताकि मानवीय तथा भौतिक क्षति हुन नपाओस्।” केही घण्टा ढिला भएको भए गम्भीर दुर्घटना हुन सक्ने अवस्था रहेको स्थानीय बासिन्दाहरु बताउँछन् ।

चाँगुनारायण नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य योजना अन्तर्गत आपतकालीन अवस्थाहरूमा तत्काल उद्धार, राहत तथा संरचना व्यवस्थापनलाई प्राथमिकता दिँदै आएको छ ।



