चाँगुनारायण (नगरकोट), साउन २८ — चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा सञ्चालित ‘स्वास्थ्य बुढौलीका लागि सहारा परियोजना’ अन्तर्गत डेङ्गी रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम स्विस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो।

हाल डेङ्गीको सम्भावित महामारीलाई ध्यानमा राख्दै चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोट जेष्ठ नागरिक मिलन चौतारीसँगको समन्वयमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा जेष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अभिमुखीकरण कार्यक्रममा सहभागीहरुलाई डेङ्गीको संक्रमण कसरी फैलिन्छ, यसको लक्षणहरू, रोकथामका उपायहरू र समयमै उपचारका महत्वबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, घर वरपर पानी जम्न नदिनु, लामखुट्टे नसर्ने उपायहरू अपनाउनु तथा स्वच्छता कायम राख्नुपर्ने विषयमा पनि विशेष जोड दिइएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका मन्त्री धर्मराज कार्कीको विशेष उपस्थिति रहेको थियो। त्यस्तै, सहारा परियोजनाका संयोजक उमा थापाले पनि कार्यक्रमलाई सम्बोधन गर्दै बृद्धबृद्धाहरूको स्वास्थ्य सुरक्षामा यस्ता कार्यक्रमहरू निकै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

