चाँगुनारायणमा “प्रथम मेयर कप दौड प्रतियोगिता” हुँदै, २७ गतेभित्र नाम दर्ता गरिसक्न आग्रह

भक्तपुर (चाँगुनारायण), साउन २३ – चाँगुनारायण नगरपालिकाको आयोजनामा प्रथम मेयर कप दौड प्रतियोगिता आयोजना गर्ने भएको छ। नगर खेलकुद विकास समितिको संयोजनमा यही साउन ३१ गते प्रतियोगिता आयोजना गरिन लागिएको हो ।

प्रतियोगिता चाँगुनारायण वडा नंं ५ र ७ को संगमस्थल यातु महादेवस्थानमा शनिबार बिहान ७ बजे सञ्चालन गरिनेछ। स्थानीय युवा र खेलाडीहरूको प्रतिभा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा पुरुष महिला ५/५ किलोमिटरको प्रतिस्पर्धा गराइनेछ ।

आयोजक समिति संयोजक रघु केसीका अनुसार प्रतियोगिता १३–१४ वर्ष, १५ र १६ वर्ष १७–१८ वर्षका उमेर समूहका खेलाडीहरूबीच प्रतिस्पर्धा गराइनेछ । प्रत्येक उमेर समूहमा एक जना छात्र र छात्रा सहभागि हुन पाउनेछन् ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार रुपैयाँ, दोस्रोलाई ३ हजार रुपैयाँ, तेस्रो हुनेलाई २ हजार रुपैयाँ र चौथो र पाँचौ हुनेलाई सान्त्वना पुरस्कार स्वरूप १ हजार रुपैयाँ पाउने छन्। सबै विजेता टोलीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिनेछ।

प्रतियोगिताका लागि इच्छुक टोलीले यही साउन २७ गतेभित्र नाम दर्ता गरिसक्नुपर्ने समितिले जनाएको छ।