खरीपाटी: चाँगुनारायण नगरपालिका–७ का दुई प्रतिभाशाली खेलाडीहरूले अजरबैजानको बाकुमा २०२५ जुलाई २४ देखि २८ सम्म सम्पन्न वर्ल्ड बुदो मार्सल आर्ट प्रतियोगितामा ऐतिहासिक सफलता हात पारेका छन्।

चाँगुनारायण सो–क्योकुशिन करातेको प्रतिनिधित्व गर्दै पूजा खड्का र रोचक भारतीले १५ वर्षभन्दा कम उमेर समूहमा क्रमशः ४० केजि र ७० केजि तौल समूहमा प्रतिस्पर्धा गर्दै फुल कन्ट्याक्ट कराते तथा किक बक्सिङ विधामा गरी कुल ४ स्वर्ण पदक जित्न सफल भएका हुन्।

यस प्रतियोगितामा अन्य नेपाली खेलाडीहरूले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । बबिता कार्कीले दुबै विधामा स्वर्ण पदक जित्न सफल भइन् भने हेटौडाका सुदर्शन खतिवडाले फुल कन्ट्याक्ट करातेमा स्वर्ण तथा किक बक्सिङमा रजत पदक जिते। खेलाडी सागर विष्टले फुल कन्ट्याक्ट करातेमा रजत र किक बक्सिङमा स्वर्ण पदक जिते।

नेपाल बुदो कैदो फुल कन्ट्याक्ट कराते संघका अध्यक्ष वीरकृष्ण महर्जनको नेतृत्वमा १३ सदस्यीय नेपाली टोली साउन ८ गते अजरबैजान प्रस्थान गरेको थियो। प्रतियोगितामा चाँगुनारायण नगरपालिकाको खेल प्रशिक्षा समेत रहनु भएको करुणा राउत भारती पनि रेफ्रीको भूमिकामा सहभागी हुनुहुन्थ्यो ।
टोली साउन १६ गते नेपाल फर्किएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बुदो कैदो संघका केन्द्रीय प्रतिनिधि लगायत खेलाडी र शुभचिन्तकहरूले भव्य स्वागत गरेका थिए।

त्यस्तै, चाँगुनारायण नगरपालिकाका खेलाडीहरूको सम्मानमा नगर प्रमुख जीवन खत्रीले स्वागत गर्नुहुँदै सम्मान गर्नुभयो । उहाँले चाँगुनारायणको नाम विश्व मञ्चमा राख्न सफल भएकोमा खुसी समेत ब्यक्त गर्नुभयो । स्वागत कार्यक्रममा वडा नंं ७ बाट जनप्रतिनिधिहरु पुष्कर खड्का, श्यामकाजी नयाजु, तथा वडा नं ७ का नेपाली कांग्रेस सभापति मनोज गिरी लगायत सहभागि हुनुहुन्थ्यो ।


