
खरीपाटी: चाँगुनारायण नगरपालिकाले अघिल्लो आर्थिक वर्षको ४ करोड भन्दा बढी बेरुजु फछ्यौट गरेको छ । महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन २०८२ अनुसार आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न शीर्षक अन्तगर्त देखिएको ४ करोड १० लाख ६३ हजार ४२४ रुपैयाँ बेरुजु फछ्यौट गर्न सफल भएको हो ।
महालेखापरीक्षकको कार्यालयले वार्षिक लेखा परिक्षण गर्ने क्रममा कानुनबमोजिम पुर्याउन पर्ने रित नपुर्याइ, कारोबार वा नियमसङ्गत लेखा नराखेको भनी लेखापरीक्षणका क्रममा औल्याइएको कारोबारलाई बेरुजुको रुपमा लेख्ने गरेको छ ।
बेरुजुलाई रूजु नभएको अंकको रुपमा पनि लिइन्छ । लेखा परीक्षण गर्दा प्रचलित ऐन–नियम, प्रक्रिया र खर्चको नतिजामा रूजु नभएको अंक तथा कारोबार बेरुजु हो। यस्तो बेरुजुलाई मुख्यतः सैद्धान्तिक बेरुजु, असुल उपर गर्नुपर्ने बेरुजु, नियमित वा प्रमाण पेश गर्नुपर्ने बेरुजु र पेश्की फर्स्योट गर्नुपर्ने बेरुजुको रूपमा वर्गीकरण गरिएको हुन्छ।
महालेखापरीक्षकले लेखापरिक्षण गरेका ७५३ स्थानीय तहको बेरुजुलाई बेञ्च मार्किङ गर्ने क्रममा महानगरपालिकामा २.१० प्रतिशत, उपमहानगरपालिकामा २.२४ प्रतिशत, नगरपालिकामा २.२३ प्रतिशत र गाउँपालिकामा २.१५ प्रतिशत बेरुजु रहेको उल्लेख गरेको छ ।
महालेखाको प्रतिवेदन अनुसार चाँगुनारायण नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ को ३ अर्ब ७५ करोड ४९ लाख १४ हजार बराबरको लेखा परिक्षण गरिएको छ । त्यसमध्ये चाँगुनारायणको बेरुजु १ दशमलव ३९ प्रतिशत छ । समग्रमा देशभरका नगरपालिकाको बेरुजुको दर २ दशमलव ३१ प्रतिशत रहेको छ । तर यसको तुलनामा चाँगुनारायणको बेरुजु प्रतिशत कम छ । यद्यपी बेरुजु घटाउँदै लग्नुपर्ने भने देखिन्छ ।
पछिल्लो समय नगरपालिका बेरुजु घटाउन संवेदनशील र सक्रिय रहेको हुँदा बेरुजु फर्छ्यौटको अवस्था निकै सुधारोन्मुख रहेको पाइएको छ ।
भक्तपुरमा चाँगुनारायणसँगै अन्य तीन पालिकाको बेरुजु पनि समग्रमा तुलना गर्दा कम देखिन्छ । भक्तपुर जिल्लामा भक्तपुर नगरपालिकाको १ दशमलव १९ प्रतिशत, मध्यपुर थिमी नगरपालिकाको १ दशमलव ३९ प्रतिशत र सूर्यविनायक नगरपालिकाको १ दशमलव ४८ प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, काठमाडौं महानगरपालिकाको २ दशमलव ४७, ललितपुर महानगरपालिकाको ०.५२, कागेश्वरी मनोहरा नगरपालिकाको ३ दशमलव ०५, गोकर्णेश्वर नगरपालिकाको ४ दशमलव ७९ र शंखरापुर नगरपालिकाको ३ दशमलव २० प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।